सडकपेटी पैदल यात्रुमैत्रीबिहीन


सडकपेटी पैदल यात्रुमैत्रीबिहीन

नेपालगन्ज : बाँकेको नेपालगन्जका अधिकांश सडकपेटी पैदल यात्रुमैत्री छैनन् । जोखिम मोलेर यात्रुले मुख्य सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । निर्माण भएका सडक पेटीमा व्यवसायीले सामान राखेर हिड्नै नमिल्ने बनाउँने गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको प्रभावकारी ध्यान जान सकेको छैन् । नेपालगन्जको मुख्य बजारका रूपमा रहेको त्रिभुवनचोक, सदरलाइन, बागेश्वरी मन्दिर क्षेत्र नयाँ सडक र सुर्खेतरोडमै यस्तो समस्या बढी देखिएको छ ।

सदरलाइन, त्रिभुवनचोक, बागेश्वरी मन्दिर आसपासको सडकपेटी ज्यादै साघुँरो छ । दुई पैदलयात्रु क्रस हुन मुस्किल पर्ने गरेको छ । त्यसैमाथि स्थानीय व्यवसायीले सडकपेटीमै पसल थाप्दा झनै समस्या बढेको छ ।

विपरीत दिशाबाट आउँदै गरेकालाई पालो दिएर मात्रै आफू अघि बढ्ने संरचना छन् । बाटो काट्न र गन्तव्य पुग्ने संरचना मापदण्ड अनुसार नहुँदा सवारी चालकले पनि दिनहुँ समस्या झेल्नुपर्ने बाध्यता रहेको सवारी चालक ईश्वरी शर्मा बताउँछन् ।

सडक मापदण्ड, २०७० अनुसार १५ मिनेटमा सडकपेटीमा पाँचसय पैदल यात्रु हिँड्ने भएमा १ दशमलब ५ मिटरको चौडाइ भएको फुटपाथको व्यवस्था गरिनुपर्ने प्रावधान छ ।

एक हजार पाँच सयसम्म पैदल यात्रु हिँड्ने भएमा दुई मिटर र २५ सयसम्म यात्रु हिँड्ने भएमा साढे दुई मिटरको हुनुपर्छ । ३५ सयसम्म यात्रुको ओहोर दोहोर हुने सडकपेटीको चौडाइ तीन मिटरको हुनुपर्छ । तर, बाँकेको नेपालगन्जमा यस्तो मापदण्ड अनुसार सडक पेटी बनेका छैनन् । बनाउँने तर्फपनि कसैले चासो देखाएका छैनन् ।

सदरलाइन, पासाङलामूमार्ग, फुलटेक्रा जाने सडकमा त प्रभावकारी सडक पेटी नै छैन् । भएका पनि अतिक्रमणमा परेर पैदल यात्रुले हिड्न त के हेर्न समेत नसकिने अवस्थामा छन् ।

अधिकांश पेटी साँघुरो भएकाले एकजना समेत हिँड्न मिल्दैन । पछिल्लो समयममा स्तरोनन्ति गरिएको सुर्खेतरोडमा समेत व्यवसायीले अतिक्रमण बढाएका छन् ।

मापदण्ड अनुसार सडकपेटी नभएको सत्य हो उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल भन्छन्:‘सडक विस्तार गर्दा मुख्य प्राथमिकतामा सवारी गुड्ने संरचनालाई दिँदा समस्या बढ्न थालेको हो ।’ उनकाअनुसार बढ्दो जनघनत्वले नेपालगन्जमा यस्तो समस्या आएको हो ।

सडकपेटीमा यात्रुले पहिलो प्राथमिकता पाउनुपर्ने भएपनि विद्युत र टेलिफोनका पोलसँगै बोट विरूवा रोप्दा समस्या बढ्ने गरेको छ । सडकपेटी ओगटेर मोटरसाइकल र सवारी पार्किङ गर्ने र सार्वजनिक सेवा प्रदायक निकायले सवारी पार्किङको सुविधा उपलब्ध नगराउँदा समस्या बढिरहेको छ । बेमौसमी रूपमा उपमहानगरपालिकाले सडकपेटी खाली गर्न लगाएपनि दिर्घकालिन समस्या समाधान भने हुन सकेको देखिदैन् ।