नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर देखिएका छन् । नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धी २०७५/०७६ मा सबैभन्दा बढी गणित विषयमा विद्यार्थी कमजोर रहेको देखाएको हो ।
तथ्यांक अनुसार यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी गणितमा सबैभन्दा बढी कमजोर देखिएका छन् । गत आव २०७५/०७६ मा सामुदायिक स्कुलमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत विद्यार्थी अन्य विषयभन्दा कमजोर रहेको शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्याल बताउँछन् ।
तर, कोहलपुर नगरपालिकाको शिक्षा शाखाले गणित विषयका शिक्षकका लागि सिकाई केन्द्र समेत स्थापना गरेको छ । उक्त केन्द्र प्रभावकारी नभएको यसले पुष्टि गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थी गणितमा कमजोर नतिजा ल्याएको पाइए पनि नतिजा सुधार गर्न नगरपालिकाले शिक्षकलाई तालिम दिन सुरु गरेको छ ।
यस नगरपालिकाले बाँके जिल्लामा पहिलो साक्षरता घोषणा गरेको थियो । शिक्षामा प्रविधिको प्रयोग नभएको कारणले गणित विषयमा कमजोर भएको कोहलपुर नगरपालिका–१, का वडाध्यक्ष गोपीलाल खनाल बताउँछन् ।
गणित विषयमा कमजोर भएपछि गणित शिक्षकहरुको लागि सिकाई केन्द्र स्थापना गरेको जनज्ञानज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक एकदेव पन्थी बताउँछन् । कोहलपुर नगरपालिकामा गणित विषयमा एकदमै खस्कँदो अवस्थामा पुगेको छ । उनले भने, ‘यसलाई गणित विषयमा कमजोर विद्यार्थीको शैक्षिक विकास गर्नका लागि सबै गणित शिक्षकहरुलाई सिकाई केन्द्रमार्फत सिकाई रहेका छौं ।’
अभिभावकको कमजोरी गर्दा विद्यार्थीहरु कमजोर भएको नगरपालिकाका विद्यालय निरिक्षक जिवन न्यौपाने बताउँछन् । अभिभावकले सामुदायिक विद्यालय भन्ने बित्तिकै मनोबल घटाउने गरेको उनी बताउँछन् । उनकाअनुसार यसका लागि अभिभावकले आफूले आत्म पहिचान गर्नुपर्छ । शैक्षिक उपलब्धी २०७५÷०७६ को अनुसार गणित विषयमा कक्षा १ देखि ३ सम्म ६१ प्रतिशतमात्र उत्तीर्ण भएको तथ्यांक छ । कक्षा ४ देखि ५ सम्म २०.९४ प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् ।
कक्षा ६ देखि ८ सम्म ४९ प्रतिशत उत्तीर्ण भएका छन् । कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा नेपाली, स्वास्थ्य, सामाजिक विषयमा बढी उत्तीर्ण भएको तथ्यांकले देखाएको छ ।