चिनबाट घर फर्काइयो १ सय ७५ नेपाली
नेपालगन्ज: कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ६५ पुगेको हो ।
अहिलेसम्म करिब ७० हजार नागरिकमा कोरोनाभाइरस देखिएको छ । करिब १० हजार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी उपचाररत छन् ।
यसअघि कोरोना भाइरसका बारेमा सबैभन्दा पहिले खुलासा गर्ने चिनियाँ डाक्टरको भाइरस संक्रमणकै कारण मृत्यु भएपछि चिनियाँ सरकारको निर्णयप्रति जनताहरुले आक्रोश व्यक्त गरिरहेकाछन् ।
हालसम्म प्राप्त जानकारी अनुसार कोरोना भाइरसको इपिसेन्टर वुहानमा १ हजार ७ सय मेडिकल स्टाफ संक्रमित भएकाछन् ।
यसैबीच, नेपाल सरकारले कोरोनाभाइरसको केन्द्र रहेको चिनको हुबेई प्रान्तबाट १ सय ७५ जना नेपालीलाई घर फर्काएको छ । हुबेईमा रहेका १ सय ८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए ।
घर फर्कने टोलीमा १ सय ३४ पुरुष र ४१ महिला छन् । दूतावासका अनुसार तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेका थिए भने छ जना फर्कन पाएनन् । दूतावासका अनुसार चार जनामा ज्वरो देखिएको थियो भने दुई जना उनीहरूको परिवारका सदस्य हुन् ।
उनीहरूलाई उद्दार गर्न नेपाल वायु सेवा निगमको वाइडबडी विमान पुगेको थियो । विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।
चीनको वुहान शहरबाट उद्दार गरेर ल्याइएका १ सय ७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पु¥याइएको छ ।
विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो । उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ ।
उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पु¥याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो ।
खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् । नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने छ ।