पोखरा : निरन्तर २५ वर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालले माग गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले श्रमजीवि पत्रकारहरुको लगनशिलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
मंहगी आकासीरहेको वर्तमान अवस्थामा श्रमजीवि पत्रकारहरुको लागि सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलाई व्यवहारमा तत्काल लागु गरि समयमा उपलब्ध गराउन सो बैठकले सञ्चार गृहहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश नम्बर ५ को तर्फबाट उपाध्यक्षमा श्रीधर सुबेदी, कर्णाली प्रदेशको तर्फबाट उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्षमा राधिका जोशी, काठमाडौं उपत्यका संयोजकमा दिपेश राजथारु तथा केन्द्रीय सदस्यहरुमा रञ्जीत प्रसाई (झापा), विजय राउत (सुनसरी), सविता पोखरेल (गोरखा) लाई मनोनयन गरेको छ ।
साथै मिडिया नेपालको स्थापना दिवस आगामी चैत महिनामा प्रदेश नम्बर ५ को नेपालगन्जमा मनाउने तथा सो अवसरमै ५नम्बर प्रदेश समिति गठन एवं घोषणा सभा गर्ने र सो को लागि आवश्यक तयारी गर्न उपाध्यक्ष श्रीधर सुबेदीलाई, कर्णाली प्रदेश समिति गठन तथा घोषणा सभाको तयारी गर्न उपाध्यक्ष अंगत देवकोटालाई जिम्मेवारी दिने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
गण्डकी प्रदेशको प्रदेश कार्यसमिति २०७६ फागुन ५ गते गठन गर्ने र गठन हुन बाँकी रहेका प्रदेशमा यथासक्य चाँडो प्रदेश कार्यसमिति गठन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको बैठकले गरेको छ ।