विकासका लागि निजीक्षेत्रसंग सहकार्यमा जोड


विकासका लागि निजीक्षेत्रसंग सहकार्यमा जोड

नेपालगन्ज :नेपालगन्जको विकासका लागि उपमहानगरपालिका र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । सोमबार नेपालगन्जमा आयोजित नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख मेयर डाक्टर धवल शम्सेर राणाले उपमहानगरपालिका र संघबीचको सम्बन्ध सधैं सुमधुर हुनुपर्नेमा आफुहरु भएको बताए ।

मेयर राणाले भने –‘संघ र उप–महानगरपालिकाबीच निरन्तर सहकार्यको आवश्यकता छ । कुनै विवाद आएमा छलफलका माध्यमबाट त्यसालई टुंगो लगाउ ।’

उनले विगतदेखि नै उपमहानगरपालिकाले संघसँग सहकार्य गर्दै आएको स्मरण गर्दै भने ‘नयाँ कार्यसमितिसँग मिलेर अघि बढ्नेछौं ।’ यस्तै कार्यक्रममा उपमेयर उमाथापा मगरले संघसँग सहकार्य गरेर अघि बढ्ने नीति लिइएको बताईन् ।

उनले –‘राजश्व परामर्श समितिमा संघको प्रतिनिधित्व हुने जानकारी दिदै आगामी दिनमा पनि सहकार्य उत्तिकै आवश्यक भएको बताइन् ।’
यस्तै नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले संघ र स्थानीय सरकारबीचको सहकार्यबाट नगर विकासका धेरै काम गर्न सकिने बताए ।

उनले –‘कर रहरले तिर्ने वातावरण बनाउन हामी लागिपरेका छौं, यसमा दुबै मिलेर स्थानीय उत्पादनको सम्वद्र्धन गर्न जरुरी छ ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले स्थानीय सरकार र संघबीच नङ र मासुको सम्बन्ध रहेको बताउदै उपमहानगरपालिकासँग संघको सम्बन्ध विगत भन्दा प्रगाढ हुने बिश्वास ब्यक्त गरे ।

‘उद्योगी ब्यवसायीले हामीलाई उनीहरुको प्रतिनिधीको रुपमा पठाएका छन्, अध्यक्ष मन्सुरीले थपे–‘हाम्रो प्राथमिकतामा उद्योगी र ब्यवसायी छन्, दोश्रो प्राथमिकता सामाजिक सेवा हो ।’

नेपालगन्ज उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीलाई उपमहानगरपालिकाका नगर प्रमुख राणा, उपप्रमुख मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल लगायतले सम्मान सहित बधाई ज्ञापन गरेका थिए ।