फेरी पप्पु कालोसूचीमा


फेरी पप्पु कालोसूचीमा

नेपालगन्ज : पप्पुसहित ६ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । विभिन्न आयोजनाको निर्माण ठेक्का लिएर सम्झौताअनुसार काम नगर्ने पप्पुसहित ६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा सूचीकृत गरेको हो ।

यसअघि पटक–पटक कालोसूचीमा परेको पप्पु कन्स्ट्रक्सन प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।  काठमाडौं उपत्यका सडक आयोजनाअन्तर्गतको योजनामा कबुलअनुसार पप्पुले काम नगरेपछि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

विवादास्पद् पप्पु कन्स्ट्रक्सन सांसद् हरिनारायण चौधरी स्वामित्वको निर्माण कम्पनी हो । अनेक विवादमा परेपछि अहिले कागजी रूपमा भने उनका छोरा सुमित रौनियारको स्वामित्व कायम गरिएको छ ।

प्रहरीका ठेक्का लिएर कबुल अनुसार, काम नगर्ने दामोदर दुलालले सञ्चालन गर्दै आइरहेको श्रीदेव सप्लायर्स पनि बेइमान कम्पनीमा दरिएको छ ।
अनुगमन कार्यालयका अनुसार, प्रहरीका दुई ठेक्का लिएर सम्झौता अनुसार काम नगरेको भेटिएपछि यसलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।