नेपालगन्ज: नेपाल प्रेस युनियनको नवौं केन्द्रिय महाधिबेशन नेपालगन्जमा हुने भएसँगै नेपालगन्जमा युनियनको गतिविधि बढेर आएकोछ ।
महाधिबेशनलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न युनियनका केन्द्रिय पदाधिकारीसहितको टोली नेपालगन्जमा आएर गतिविधिलाई तीव्रता दिएकाछन् ।
युनियनको केन्द्रिय महाधिबेशन आउन ४४ दिन बाँकी रहदाँ नेपालगन्जमा मङ्गलबार सचिवालय स्थापनासगैं विभिन्न उपसमितिहरु बनाइएकोछ ।
नेपालगन्ज सुर्खेतरोड स्थित वेष्टर्न बिजनेस कम्प्लेक्सको भवनमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरि युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले सचिवालयको उद्घाटन गरे ।
सचिवालय उद्घाटनमा बोल्दै अध्यक्ष सिग्देलले–‘प्रेस युनियन भनिएपनि नेपालगन्जमा देशभरका पत्रकारहरुको महाकुम्भ हुने भएकाले सबै मिलेर सफलतापुर्वक सम्पन्न गराउनुपर्नेमा जोड दिए ।’ उनले भने–‘पश्चिम नेपालको पत्रकारिताको विकासका लागि नेपालगन्जमा हुने महाधिबेशन गम्भीर भएर जुट्नेछ । यहाँको पर्यटकीयक्षेत्र, स्थानीय विकास र समान्तर विषयका बारेमा चर्चा हुनेछ ।’
अध्यक्ष सिग्देलले भने–‘नेपालका २ हजार पत्रकारहरुबाट नेपालगन्ज भाइब्रेट हुन्छ । यहाँ आउने पाहुनाको स्वागत, सत्कारमा कुनै कसर बाँकी नराख्न सवैमा आग्रह गर्छु ।’ उनले महाधिवेशनमा सरकारले ल्याएको मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकका बारेमा गम्भीर छलफल हुने जानकारी दिए ।
अध्यक्ष सिग्देलले लोकतान्त्रिक सरकारले पत्रकारिता क्षेत्रलाई नै असर पर्नेगरि कानूनहरु निर्माण गरेकोमा आपत्ती जनाउदै भने–‘सरकारले दण्ड र जरिवाना तथा सजायका बारेमा पुर्नलेखन गनुर्पछ । पत्रकारलाई ज्यान मार्ने भन्दा बढी सजाय राख्न पाइदैन ।’ सिग्देलले अगाडी थपे– ‘महाधिवेशनमा यी लगायत पत्रकार आचारसंहिता, विज्ञापन नीतिका बारेमा छलफल हुनेछ ।’
महाधिबेशन परिचालन समितिका संयोजक एवंम युनियनका उप–महासचिव प्रेम केसीले ऐतिहासिक एवम् सुन्दर नगरी नेपालगन्जले युनियनको केन्द्रिय महाधिवेशनको आथित्यता गर्न पाउनु गर्वको कुरा भएको बताए ।
‘नेपालगन्जमा हुन लागेको महाधिवेशनलाई सफल पार्न केन्द्रिय कार्यसमितिको पुरै टिम परिचालित हुनेछ, बाँकेसहित आसपासका जिल्ला शाखाले पनि सक्रियता देखाउनुपर्नेछ,’ केसीले भने ।
उनले भने–‘सवैले आफ्नो स्तर र स्थानबाट देशभरका साथीहरुलाई स्वागत गरौं, युनियन खटिएझैं अन्य संगठनका साथीहरु पनि खटौं, नेपालगन्जको ईज्जत र गरिमासगं जोडिएको विषय हो ।’
‘स्टेरिङ’ समिति सहित ११ उपसमिति गठन
नेपालगन्जमा आगामी चैत्र २१ र २२ गते हुने महाधिबेशन सफल बनाउन युनियनले महाधिबेसन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा प्रेम केसी रहेकाछन् ।
यस्तै सदस्यहरुमा हेमन्त कमचार्य, विजय बर्मा, दीपा आले, जयसिंह केसी, हरिश भट्ट, अर्जुन ओली, जयनारायण शाह, शुक्रऋषी चौलागाई, नरेन्द्र थापा, दामोदर भण्डारी, राकेश मिश्रा, नविन गिरी चेतकान्त भट्टराई र सदस्य सचिवमा श्रीराम सिग्देल रहेकाछन् ।
त्यसैगरि युनियनले महाधिबेशन सफल पार्न विभिन्न ११ वटा उपसमिति गठन गरेकोछ । जसमा प्रेम केसीको संयोजकत्वमा आर्थिक परिचालन तथा संकलन सचिवालय व्यवस्थापन समिति गठन गरेकोछ ।
यस्तै आवाश तथा भोजन व्यवस्थापनमा श्रीराम सिग्देल, पर्यटन प्रर्बद्धन संयोजन समितिमा शुक्रऋषी चौलागाई, अनुगमन तथा मुल्यांकन समितिमा हेमन्त कर्माचार्य, प्रकाशन तथा छापा सम्बन्धी समितिमा दामोदर भण्डारी, प्रचारप्रसार समितिमा अर्जुन ओली, सुरक्षा तथा समारोह व्यवस्थापन समितिमा जयनारायण शाह, अतिथि सत्कार समितिमा जयसिंह केसी, झाँकी, प्रभातफेरी तथा साँस्कृतिक समितिमा नरेन्द्र थापा, सामाजिक संघसस्था तथा सम्मान व्यवस्थापन समितिमा नविन गिरी र सरसफाई तथा स्वास्थ्य व्यवस्थापन समितिमा विमल चन्दको संयोजकत्वमा उपसमिति गठन गरिएकोछ ।