एग्रोभेटसहित १५ कम्पनी कारबाहीमा


एग्रोभेटसहित १५ कम्पनी कारबाहीमा

नेपालगन्ज : गरिमा धानको कमसल बिउ बिक्रि वितरण गर्दै आएका एग्राभेटसहित १५ वटा कम्पनीलाई कारावही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिमा धानको बिउ कमसल बिक्रि गरिरहेको भेटिएपछि बजार अनुगमनका क्रममा उनीहरूमाथि कानूनी कारवाही गरेको छ ।

प्रशासनिक कारबाही ७ हजार ३ सय ५६ वटा समेतबाट ७ करोड २ लाख ११ हजार ८९९ रुपैयाँ राजस्व जम्मा भएको छ । विभागले चालू आवमा १ हजारवटा व्यापारिक फर्महरुको अनुगमन गर्ने लक्ष्य राखेको थियो । चालू आवको अहिलेसम्म विभागले कुल १४ करोड ६६ लाख राजस्व संकलन गरेको छ ।

माघसम्म विभागले उपत्यकामा र उपत्यकाबाहिरका गरी कुल एक हजार एक सय ६४ वटा फर्मको अनुगमन गरेको छ । सो अनुगमनपछि कुल एक करोड ७ लाख ८२ हजार रुपैयाँ जरिवाना तिराइएको छ । विभागको ३ सय ५३ वटा टोलीले उक्त अनुगमन गरेको हो ।

उपत्यकामा ९ सय ८९ वटा र उपत्यकाबाहिर १ सय ७५ वटा कम्पनीको अनुगमन गरेको विभाग बताउँछ । यसक्रममा कुल एक करोड ५३ लाख ६६ हजार ९ सय ८८ रुपैयाँको वस्तु नष्ट गरिएको छ ।

उपत्यकाभित्र एक करोड ५२ लाख ८४ हजार १ सय ९० रुपैयाँबराबरको र उपत्यकाबाहिर ८२ हजार ७ सय ९८ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको हो । यसबीचमा २ वटा मुद्दा दायर र १८ वटा नमूना परीक्षण गरिएको विभागको भनाइ छ ।

अनुगमनमा दोषी पाइएपछि मुनाल एग्रोभेट कन्सर्न बाँकेलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । सनराइज एग्रिकल्चर रिसर्च प्रालि दाङलाई तीन लाख, तनहुँ बीज भण्डारलाई २ लाख जरिवाना गराइएको छ । दुवै कम्पनीविरुद्ध गरिमा धानको बीउ भनी कमसल धानको बीउ आयात गरेर बिक्री गरेकोमा उक्त जरिवाना गराइएको हो ।

त्यस्तै, जमिन बीज भण्डार कपिलवस्तु, घिमिरे एग्रोभेट कपिलवस्तु, लालीगुराँस एग्रोभेट सेन्टर दाङ, स्वर्गद्वारी एग्रि नेपाल दाङ, जनता एग्रोभेट दाङ, सृजना भेट सेन्टर बर्दिया, शिखा एग्रो सेन्टर बर्दिया, खुसीराम भेटरिनरी सेन्टर बर्दिया, लोहनी एग्रोभेट सेन्टर बर्दिया, आरएच एग्रोभेट कैलाली, किसान एग्रोभेट सेन्टर कैलाली, प्रशान्त एग्रोभेट सेन्टर चितवनलाई प्रति कम्पनी दुई लाख जरिवाना छ ।

उक्त १५ कम्पनीविरूद्ध गरिमा धानको कमसल बीउ बेचेको भन्दै विभागले कारबाही गरेको हो । सुलु भेट सेन्टर बर्दियालाई र तेजल एग्रोभेट दाङलाई कारोबार स्थलमा खरिद बिल नराखेकाले २० हजार जरिवाना गराइएको छ ।

साउन १ देखि फागुन ४ सम्म विभागमा प्राइभेट फर्म, साझेदारी फर्म, एजेन्सी र कम्पनी गरी ६ हजार ५ सय ४८ वटा कम्पनी दर्ता भएका छन् ।