नेपालगन्ज : बाँकेका दुई शहरमा खुला रूपमा खसीबोका बध गरी विक्रि वितरण गर्ने क्रम बढेको छ । खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।
यसैले त्यस्तो मासुको बिक्री पनि उच्च छ । आफ्नै अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको कारकाँदोका उपभोक्ता स्मृति डिसी बताउँछिन् ।
चिकित्सका अनुसार खुला रूपमा बध गरेको मासु स्वास्थ्यमा प्रतिकूल हुने गरेको छ । मासु केही घण्टा ‘फ्रिज’मा राखेर राम्ररी पकाएर मात्र खानुपर्ने चिकित्सक बताउँछन् ।
यहाँ परम्परागत रूपमा दैनिक बध गरिएका खसीका मासु धेरै बिक्री हुँदै आएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गरी प्रदेश सरकारले यहाँ सुधारिएको मासु पसल ‘मिट मार्ट’ स्थापनाका लागि सहयोग गरेको छ ।
यसरी स्थापना गरिएका मार्टमा आम उपभोक्ताको उपस्थिति निकै पातलो हुने गरेको छ । जयपृथ्वी सहकारी संस्थाले यहाँको कारकाँदोमा ‘नेपालगन्ज मिट मार्ट’ र दीपेन्द्र श्रेष्ठको एकल स्वामित्वमा बिपी चोकमा ‘यम्मी मिट मार्ट’ स्थापना गरिएको छ ।
मिट मार्ट सञ्चालकले फोजन गरेको शुद्ध मासु बिक्री गर्ने गरेको दाबी गरेका छन् । तर, उपभोक्तामा स्वास्थ्य सचेतनाका कमीका कारण सोचेकोजस्तो बिक्री नभएको ती सञ्चालकले दुःखेसो पोखेका छन् ।
प्रदेश सरकारले मार्ट सञ्चालकलाई अनुदान समेत दिएको छ । यम्मी फ्रोजन फुड्सलाई ५० लाख र नेपालगन्ज मिट मार्टलाई ३२ लाख अनुदान दिइएको प्रदेश सरकारका कृषिमन्त्री आरती पौडेल बताउँछिन् । ती मार्ट सञ्चालकले कुखुरा, खसीको मासु बिक्री गर्ने गरेका छन् । स्वास्थ्यका लागि छाला, बोसो र रगत भएको रातो मासु खानुहुँदैन ।
यसलाई बुझेका व्यक्तिले फ्रोजन गरेको मासु किन्ने गरेका छन् । नबुझेकाले मात्र परम्परागतरुपमा बध गरिएका मासु खरिद गर्ने गरेको यम्मी फ्रोजन फुड्सका सञ्चालक श्रेष्ठ बताउँछन् ।