प्रजातन्त्र दिवसः ३ सय २९ कैदीको कैद मिनाहा

नेपालगन्जमा प्रभातफेरी


प्रजातन्त्र दिवसः ३ सय २९ कैदीको कैद मिनाहा

नेपालगन्ज: देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा बुधबार नेपालगन्जमा प्रभातफेरीको आयोजना गरिएको छ ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

जिल्ला समन्वय समिति बाँकेको आयोजनामा विपिचोकबाट नेपाल प्रहरीको व्याण्ड बाजा सहितको टोलीले नगर परिक्रर्मा गरेको थियो । प्रभातफेरी त्रिभुवन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगलाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलन भयो । जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भएको थियो ।

त्यसपछि तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लाहरुमा पनि यो दिवस मनाइँदै आएको छ ।

दिवसका अवसरमा फागुन ६ गतेदेखि नै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आए पनि फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

३ सय २९ कैदीको कैद मिनाहा
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय २९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३ सय २९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ ।