दुई करोड लागतमा छात्रा स्कुल


दुई करोड लागतमा छात्रा स्कुल

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले दुई करोड लागतमा छात्रा स्कुलको भवन निर्माण सुरु गरेकोछ । उपमहानगरपालिकाले वडा नम्बर ४, सल्यानीबंगलामा दुई करोडको लागतमा १८ कोठे भवनको निर्माण कार्य सुरु भएको हो ।

बुधबार उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्सेर राणाले उक्त भवनको शिलान्यास गरे । प्रमुख राणाले आगामी असारभित्रै भवन निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

छात्रा स्कुल र कलेज नेपालगन्जका लागि एकदमै आवश्यक छ, प्रमुख राणाले भने,–‘समयभित्रै भवन निर्माण गरि थप व्यवस्थित गर्नेछु ।’ उपमहानगरपालिकाले यसैवर्षदेखि छात्रा स्कुल सञ्चालनमा ल्याएको हो । आधारभुत विद्यालय सल्यानीबंगलालाई उप–महानगरपालिकाले छात्रा स्कुलको रुपमा विकास गरेको हो ।

वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले छात्रा स्कुल सञ्चालनमा आएपछि नेपालगन्जका मधेसी, मुस्लिम लगायत अन्य बालिकालाई सहज भएको बताए ।

प्रदेश सरकार र उपमहानगरपालिकाको ५०÷५० लगानीमा उक्त भवन निर्माण गरिदैछ । नेपालगन्ज उपमहानगरपालिकाका ईञ्जिनियर निमेष शर्माका अनुसार तीन तले भवन निर्माणको जिम्मा जय दुर्गे शनिदेव जेभीले प्राप्त गरेको छ ।

दुईसय बढि विद्यार्थी अध्ययनरत सो विद्यालयमा नयाँ शैक्षिक शत्रदेखि कक्षा ९ र १० कक्षा सञ्चालन गर्ने तथा प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । मेयर राणाको चुनावी घोषणापत्रमा छात्रा कलेज बनाउने उल्लेख थियो ।

विशेष गरेर मुस्लिम समुदायका बालिकाहरु मदरसामा पढेपछि माथिल्लो कक्षा पढ्न अरु स्कूलमा नजाने देखिएकाले उनीहरुलाई लक्षित गर्दै छात्रा स्कुल हुँदै कलेज बनाउन थालिएको हो । योसगैं छात्रामात्र पढाई हुने विद्यालय २ वटा हुनेछ ।