आज महाशिवरात्री, भगवान शिवको पूजा गरि मनाइदै


आज महाशिवरात्री, भगवान शिवको पूजा गरि मनाइदै

नेपालगन्ज : हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि शुक्रबार बागेश्वरी सहित बाँकेका विभिन्न शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको बागेश्वरी लगायतका शिवालयहरूमा विहानैदेखि घुइँचो लाग्ने गर्छ ।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ ।

व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ मानिन्छन् ।
शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

शिवरात्रीको दिन बागेश्वरीमा दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैले पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । शिवरात्रीको पूर्वसन्ध्यामा बागेश्वरी मन्दिर प्राङ्गणमा रहेको जुङ्गेश्वर महादेवको मूर्ती र तलाउ झकिझकाउ पारिएकोछ ।

यसैबीच, शिवरात्रीलाई व्यवस्थित र अनुसाशितरुपमा मनाउन प्रहरीले गाँजा, भाङ्ग, धतुरको विक्रिवितरणमा रोक लगाएकोछ ।