नेपालगन्ज: प्रधानमन्त्री केपी शर्मा ओलीलगायत चार व्यक्तिविरुद्ध अख्तियारमा उजुरी परेकोछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल काठमाण्डौंमा उजुरी परेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आईतबार अख्तियारमा उजुरी दिएको छ ।
उनीहरुले अनुचित कार्य(भ्रष्टाचार) गरेकोमा कारबाही गरिपाउँ भन्दै बाँके नेपालगन्ज २, का ६७ वर्षिय प्रेमबहादुर शाही र मकवानपुर हेटौडा ११ नवलपुर वस्ने ६४ वर्षिय आनन्दराम पौडेलले उजुरी दिएका हुन् ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ मागेको भन्दै चारैजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए ।
‘प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएबाट नीज प्रधानमन्त्री पनि सो भ्रष्टाचारको उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टी हुन्छ,’ उजुरीमा भनिएको छ ।