दशदिने पत्रकारिता तथा उद्घोषण तालिम शुरु


दशदिने पत्रकारिता तथा उद्घोषण तालिम शुरु

नेपालगन्ज: रेडियो सद्भावले १० दिने पत्रकारिता तथा उद्घोषण तालिम सुरु गरेकोछ । नेपालगन्ज धम्बोझीस्थित रेडियो सद्भाव ९१.२ मेगाहर्जको सभाहलमा आईतबार १० दिने तालिमको औपचारिक उद्घाटन गरियो ।

तालिम उद्घाटनमा बोल्दै सद्भाव रेडियोका प्रबन्ध निर्देशक दामोदर भण्डारीले रेडियोमा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउँदै तालिममा सक्रियतापूर्वक सहभागी भएर ज्ञान र सीप हाँसिल गर्न आग्रह गरे ।

रेडियोका स्टेशन प्रमुख नवीन गिरीले वाककला हरेक क्षेत्रमा चाहिने बताउँदै नयाँ पुस्तालाई पनि रेडियो क्षेत्रमा आकर्षित गर्न तालिम आयोजना गरिएको बताए ।

उनले तालिमबाट उत्कृष्ट प्रशिक्षार्थीहरुलाई रेडियोमै रोजगारी दिने गरी तालिम आयोजना गरिएको बताए ।

तालिममा कार्यक्रम उत्पादन, कार्यक्रम सञ्चालन, समाचार लेखन, वाचन तथा अन्तर्वार्तामूलक कार्यक्रम सञ्चालन गर्ने तरिका सिकाइने तालिम संयोजक समीरमान श्रेष्ठले बताए ।

पत्रकारिता तथा उद्घोषण तालिममा १५ वर्षदेखि ५० वर्षसम्मका १८ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । तालिममा प्रबन्ध निर्देशक भण्डारी, स्टेशन प्रमुख गिरी, स्टेशन संयोजक श्रेष्ठ, बरिष्ठ कार्यक्रम उत्पादक खगेन्द्र दाहाल लगायतले प्रशिक्षण दिनुहुनेछ ।