बाँके(अगैया): राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँसभा आईतबारबाट सुरु भएको छ । गाउँ कार्यपालिको कार्यालय अगैयामा गाउँपालिका अध्यक्ष लाहुराम थारुको सभाध्यक्षतामा सभा सुरु भएको हो ।
गाउँसभाबाट विभिन्न नियम, कानुन पारित गर्नुका साथै बजेट संशोधन, नामाकरण लगायत निर्णय गरिनेछ ।
उक्त सभामा गाउँपालिकाले तयार गरेको आधारभुत तथा माध्यामिक शिक्षा ऐन, शिक्षा नियमावली, स्थानीय तह सहकारी ऐन, विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐन २०७५, गाउँपालिका कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली २०७३, भ्रमण खर्च नियमावली, नक्सा पास कार्यविधि २०७६, उपभोक्ता समिति सञ्चालन निर्देशिका, विज्ञापन कर निर्देशिका, लगायत ३१ वटा कानूनका विषयमा छलफल गरिएको छ ।
सभाध्यक्ष थारुले गाउँपालिकाको कार्यप्रगति, समिक्षा तथा भावि कार्यदिशा लगायत विषयमा धारणा ब्यक्त गरेका थिए । गाउँपालिकाको समग्र विकासका लागि सबैले साथ दिनुपर्ने उनको भनाइ थियो ।
गाउँपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिइरहेको बताउँदै सभाध्यक्ष थारुले समग्र क्षेत्रको विकासबाट नै राप्ती सोनारीलाई समृद्ध गाउँपालिका बनाउन सकिने धारणा ब्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार गाउँ सभाले विशेषगरी कानून पारित गर्नेछ । ‘सभाले विशेषगरी कानून पारित गर्छ, आवश्यकता अनुसार बजेटको विषयमा पनि हेरफेर गर्नेछ,’ उनले भने ।
सभामा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य गाउँपालिकाको विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।
सभामा बोल्ने अधिकांस सदस्यले बिद्युत, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रको विकासका विषयमा धारणा राखेका थिए ।
सदस्यहरुले पुर्वाधार निर्माणको काम समयमै बन्नुपर्ने, गाउँपालिकाको सिमांकन, नदी खोलामा सञ्चालन गर्ने ठेक्का प्रक्रिया, गाउँपालिकाको नीति नियम लगायत विषयमा धारणा राख्नु भएको थियो ।