मेयर राणाद्वारा पत्रकारिता अक्षयकोष स्थापना गर्ने घोषणा


मेयर राणाद्वारा पत्रकारिता अक्षयकोष स्थापना गर्ने घोषणा

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले पत्रकारिता अक्षयकोष स्थापना गर्ने घोषणा गरेकाछन् ।नेपालगन्ज उपमहानगरपालिकाले चालु आवको हालसम्मको प्रगती विवरण सार्वजनिक कार्यक्रममा राणाले यस्तो बताएका हुन् ।

उपमहानगरपालिकामा मंगलबार भएको पत्रकार भेटघाटमा मेयर राणाले यही आर्थिक वर्षदेखी ४ लाखको पत्रकारिता अक्षयकोष समेत स्थापना गर्ने घोषणा गरे । स्थापना हुने पत्रकारिता अक्षयकोषमा हरेक वर्ष बजेट थप्दै लाने समेत मेयर राणाले उद्घोष गरे ।

उपमहानगरपालिकाले चालु आव ०७६÷७७ मा संचालित मुख्य–मुख्य कामहरुको ३४ बुँदे सूची सार्वजनिक गर्दै राणाले यहि चैत महिनाभित्र सम्पूर्ण योजना सम्पन्न गर्ने गरि कार्ययोजनाका साथ काम अघि बढाइएको बताए ।

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा नगरक्षेत्रभित्र चालु आबको ६ महिनामा ३३ किलोमिटर बाटो कालोपत्रे गरीनुका साथै १० किलोमिटर बाटो ढलान गरिएको उल्लेखछ ।

यस्तै उपमहानगरपालिकाले ३९ किलोमिटर नाला, आधुनिक ल्याण्डफिल्ड साईट निर्माण गरी सञ्चालनमा ल्याएको, वडा नम्बर १ मा स्पोर्टस एकेडेमी सञ्चालन ल्याएको छ । त्यसैगरी काञ्जिहाउस, वाटरपार्क, क्रिकेट मैदान, सार्वजनिक शौचालय निर्माणका साथै नगरका ३९ वटा स्थानमा हाईमष्ट लाईट जडानको प्रक्रिया अगाडी बढाईएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले यस बिचमा ७ वटा नगर बस सञ्चालन गरेको, आकाशेपुलको डिपिआर तयार गरेको, बसपार्क क्षेत्रमा २३ वटा सिसि क्यामरा जडान गरेको तथा प्याष्टिकमुक्त अभियान सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रवक्ता रिजालले सार्वजनिक गरेको प्रतिवेदनमा उपमहानगरपालिकाले नेपालगन्जलाई महानगरपालिका बनाउने, विश्वविद्यालय स्थापना गर्ने, नगरलाई पलाष्टिक मुक्त बनाउने, छाडा पशुचौपायाको उचित ब्यवस्थापन गर्ने, नगरलाई साक्षर घोषणा गर्ने लगायतका १५ बुदेँ भावी कार्यनीति समेत जारी गरेकोछ ।

पत्रकार भेटघाटमा उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल लगायतले आफ्ना विचार राखेका थिए ।