ट्राफिक र नगर चुपचाप, मेटिदै ट्राफिक चिन्ह
नेपालगन्ज: नेपालगन्जको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले उदासिनता देखाएकोछ । उपमहानगरको ट्राफिक व्यवस्थापनमा ट्राफिकले कन्जुस्याई गरेपछि यतिवेला नगरका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तब्यस्त हुनुका साथै हिडडुल गर्न समेत अप्ठेरो बनेको छ ।
विशेषगरि नेपालगन्ज सदरलाईन, त्रिभुवन चोक, सेतुविकचोदेखि सुर्खेतरोड जाने बाटो, भेरी अस्पताल लगायतका क्षेत्रमा उचितरुपमा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । भनौ ट्राफिकको उपस्थिती नै रहेकोछैन । ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालय उदासिन बन्दा सर्वसाधरणले सास्ती भोग्नु परेकोछ ।
एकातिर जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीले समस्या भोगिरहेको बताइरहेकोछ । भने, अर्कोतर्फ नेपाल प्रहरी र उपमहानगरको नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरी पनि वास्ता नै छैन ।
जसका कारण उपमहानगरको ट्राफिक व्यवस्थापन हिजोभन्दा दिनप्रतिदिन अस्तव्यस्त भइरहेकोछ । व्यवस्थित सहरको परिकल्पना गरेका नगरपिता डाक्टर धवलशम्शेर राणा स्वयमको यस विषयमा ध्यायन जान सकेकोछैन । उपमहानगरपालिकामा रहेको नगर प्रहरी गाडीमा बजार परिकर्मा गर्नुको बाहेक अरु केही पनि नगरेको सर्वसाधरणको गुनासो बढ्दै गएकोछ ।
‘नगरप्रहरी गाडीमा सरर घुम्छन्, तर, नाकैमुनी सडक जाम हुने गरि मनपरि सडकमा पार्किङ्ग गरिएका, बाटो काटिरहेक र जहाँ पायो त्यही रिक्सा, अटो रिक्सा, ठेलालाई कारबाही गर्न सक्दैन’ सरदरलाईनका एक ब्यापारीले भने–‘उपमहनगरको नगर प्रहरी कहाँछन् थाहा छैन तर, ड्युटिमा खटिएका नेपाल प्रहरीले ट्राफिक ब्यवस्थापनका लागि भने चासो नदिएको बताए ।’
सदरलाईनको भद्रगोल ट्राफिक व्यवस्थापनलाई सराप्दै स्थानीय गणेश धोवीले भने –‘यस्तो तालले उपमहानगरको ट्राफिक व्यवस्थापन हुनैसक्दैन । नेपाल प्रहरी आफ्नै तालमा हुन्छन्, ट्राफिक प्रहरीको अनुभूती नै छैन् । अझ त नगर प्रहरी कुन दुलामा लुकेछन् देखिदैनन् ।’
यस्तै नेपालगन्ज उपमहानगरपालिका साविक वडा नम्बर ८ का मोहम्मद युनूस जसगढले भने–‘नगर प्रहरीले कदम चालेको भएपनि यो भद्रगोल व्यवस्थापन हुने थियो । अब नगर प्रहरी आफूलाई मेयरुसाब भन्दा ठूला ठान्छन् । नगरमा निस्कम, कसले के गरिरहेकोछ निगरानी गरम् त्यो छैन । बस् गाडी लियो सरर घुम्यो, ड्यूटी सक्यो । यस्तोपनि हुन्छ।’ उनले प्रतिप्रश्न गरे ।
यसअघि जिल्ला ट्राफिक कार्यालय नेपालगन्जमा रहदाँ तत्कालिन बाँके ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकायले नगरको ट्राफिक व्यवस्थापनमा फड्को मारेका थिए । उपमहानगरपालिकाको मात्र नभएर जिल्लाकै ट्राफिक व्यवस्थापन सुध्रिएको थियो । उनको सरुवा भएसगैं जिल्लाको ट्राफिक व्यवस्थापनमा फितलो बन्दै आएकोछ ।
ट्राफिक कार्यालयमा नयाँ हाकिम आएसगैं ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा राखेको नगरबासीले दशैतिहार यता भद्रगोल ट्राफिक व्यवस्थापनका कारण सास्ती भोग्नु परेकोछ ।
उपमहानगरपालिकाको ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालयले मात्र नभइ, उपमहानगरपालिका सगैं नगरबासीले पनि जिम्मेवारी निर्वाह गर्नुपर्ने सदरलाईनका स्थानीयबासी सपना कसौधन बताउँछिन् ।
उपमहानगरका अधिकासं सडकहरु यतिवेला कालोपत्रे बनिसकेकाछन् । केही निर्माणाधिन छन् । तर, निर्माण भएका सडकमा ट्राफिक चिन्ह भने छैनन् । भएका चिन्हहरु पनि मेटिएका छन् ।
यसरी ट्राफिक चिन्ह विनाका सडकमा मनपरि सवारी साधन गुड्ने गर्छन् । यतिमात्र होइन ट्राफिक संकेत गरिएका ट्राफिक चिन्हहरुको नगरबासी वेप्रवाह गर्दै आइरहेकाछन् ।
सडक सुरक्षाका दृष्टिकोणले यस्ता ट्राफिक चिन्हरु आवश्यक पर्छन । उपमहानगरपालिका भित्रै सडकमा अन्य ट्राफिक चिन्हरुको कुरा त जेव्रा क्रसिङ्ग समेत छैन । भएका पनि मेटिसकेकाछन् । सडक निर्माणसगैं बनाइनुपर्ने यस्ता चिन्हरु नबनाउदाँ यसले झन् दोधारमा पारेको सवारी चालकहरु बताउँछन् ।
सडकमा कोरिने यस्ता चिन्हरु निर्माण गर्न न त सडक डिभिजन कार्यालयले सक्रियता देखाएकोछ । न त ट्राफिक र उपमहानगरपालिकाले नै । यस्तो अवस्थामा सुन्दर र व्यवस्थित उपमहानगरको कल्पना गर्न नसकिने स्थानीय बासी बताउँछन ।