नेपालगन्ज : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरता सुदृढिकरणका लागि नेपालगन्ज उपमहानगरपालिकाले १८ बुदेँ शिक्षा घोषणापत्र जारी गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शुक्रबार भएको शैक्षिक सम्मेलनमार्फत १८ बुँदे शिक्षा घोषणापत्र जारि गरिएको हो ।
सम्मेलनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणाले सामुदायिक विद्यालयको सुधारका लागि ‘मर्जर अभियान’ प्रभावकारी हुने भएपनि नेपालगन्जमा असहयोग भएको गुनासो गरे ।
उनले भने–‘सामुदायिक विद्यालयको स्तर सुधारका लागि सबैपक्षको साथ र सहयोग चाहिएको छ, तर, सोचेअनुरुप सहयोग पाइएन ।’ उनले परीक्षा सञ्चालन कडा हुनुपर्ने भन्दै विगतजस्तो चिट बोरामा भेटिने परिपार्टीको अन्त्य हुनुपर्नेमा जोड दिए ।
घोषणापत्र अनुसार उपमहानगरपालिकाले आन्तरिक आयकोे २० प्रतिशत शिक्षामा लगानी गर्ने भएको छ । २०७७ चैत मसान्तभित्र शिक्षा नीति तयार गर्ने, असार मसान्तभित्र स्थानीय पाठ्यक्रम तयार गरि कार्यान्वयन गर्ने, अति विपन्न, बालिका, मुस्लिम बालबालिका, अपांगता भएका एवं लक्षित बालबालिकाको विद्यालयमा निरन्तरताका लागि विशेष छात्रवृत्तिको ब्यवस्था गर्ने, हरेक वर्ष कम्तिमा ३ वटा विद्यालयलाई नमूनाका लागि छनोट गरि कार्यान्वयन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
यसैगरी बालबालिकाको सिकाईमा सुधार गरि गुणस्तर अभिवृद्धि गर्न उपमहानगरपालिकाको गुणस्तरीय सिकाई कार्यढाँचा निर्माण र कार्यान्वयन गर्ने, सामुदायिक विद्यालय र शिक्षकको क्षमता अभिवृद्धिका लागि कार्यक्रम संचालन गर्ने, मदरसामा अध्ययनरत बालबालिकालाई मुलधारको पाठसँग जोड्ने गरि कार्यक्रम संचालन गरिने उल्लेख छ ।
विद्यालय जाने उमेरका सम्पूर्ण बालबालिकाको विद्यालयसम्म पहुँच सुनिश्चित गर्ने, शिक्षक र विद्यार्थीको नियमित उपस्थिती दर बढाउने लगायत समावेश गरिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाले जानकारी दिए ।
यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख उमाथापा मगरले सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय सरकारले प्राथमिकता दिएर काम गरिरहेको भन्दै विद्यालय सुधारका लागि योजनासहित आउन आग्रह गरिन् ।
शिक्षाविद् विद्यानाथ कोइरालाले सहजिकरण गरेको सो कार्यक्रममा जारी घोषणापत्रमा जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरुको हस्ताक्षर गरेका थिए ।
सम्मेलनमा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।