२२ वर्षपछि स्थायी लालपूर्जा !


२२ वर्षपछि स्थायी लालपूर्जा !

नेपालगन्ज : ‘अब मर्दा पनि आनन्दसँग परान जाने भो’ बाँकेको बैजनाथ गाँउपालिका ६ का जयबहादुर रावतले आइतबार विहान भने ‘बषौंदेखिको सपना अहिले आएर पुरा भयो ।’

मुहार भरी खुशीका रंग भरेका रावतले जग्गा उपभोग गरेको २२ वर्षपछि स्थायी लालपूर्जा पाएका छन । २०५४ सालमा बर्दियाबाट बाँके बसाईसराई गरी आएका रावतले जग्गाको स्थायी लालपुर्जा पाउन २२ वर्ष संघर्ष गरेको कथा सुुनाएका छन् ।

श्रीमती र तिन जना छोरासहितको परिवारका लागि रावतले बैजनाथ गाउँपालिका ६ सम्झनाचोकमा स्थानीय वनको जग्गामा घर बनाएका थिए । पाँच जनाको परिवार सख्या बढेर १४ पुग्दा समेत स्थायी वासको ब्यवस्था नभएका रावतले अहिले जग्गाको स्थायी लालपूर्जा पाएका छन् ।

लालपूर्जा पाएपछि गरीवका लागि सरकार भएको महशुस गरेका रावतको परिवारमा खुशीको सीमानै छैन् । रावतका जस्तै बैजनाथ गाउँपालिका ६ सम्झनाचोकका एक सय १३ सुकुम्वासी घरपरिवारमा यतिबेला खुशीयाली छाएको छ । यी सबै घरपरिवारले स्थायी लालपुर्जा पाएका छन् ।

प्रस्तावित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो चरणको कार्यक्रम अन्तर्गत एक सय १३ घरपरिवारलाई स्थायी लालपूर्जा वितरण गरेका छन् । यसअघि पहिलो चरणमा २८ र दोस्रो चरणमा एक सय १० जनाले लालपूर्जा प्राप्त गरी सकेका थिए ।