File Photo
नेपालगन्ज: कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको भन्दै सरकारले नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेकोछ । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलदैं गएपछि नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने भन्दै नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
सरकारले कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएकोले नेपाल भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर आगामी २०२२ मा सम्पन्न गर्ने तयारी गरेको स्रोतले जनाएकोछ । यद्यपी यो निर्णय फागुन २४ गतेबाट लागु हुनेगरी कार्यान्वयनमा जानेछ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण हालसम्म तीन हजार भन्दा बढीको मृत्यु भइसकेकोछ । यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल आउनेहरुलाई दिँदै आएको अनअराइभल भिसा तत्कालका लागि स्थगित गर्ने निर्णय पनि गरेको छ ।
अनअराइभल भिसाको सुविधा पाउँदै आएका केही देशले यो सुविधाबाट बञ्चित हुनेछन् । तर, कुन–कुन देशका नागरिकलाई भनेर भनिएको छैन ।
यसैबीच, कोरोना भाइरसको संक्रमण रोक्न सातवटै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।