नेपालगन्ज: बाँकेको नेपालगन्जमा अहिले पनि २१ हजारबढी घरधुरी नक्शा पासबिहीन छन् । २०७४ मा गरिएको घरधुरी सर्वेक्षणको अनुसार नेपालगन्जमा २८ हजार घरधुरी रहेको छ । तर, पछिल्लो जनसंख्या र भौतिक पुर्वाधार निर्माको बृद्धि दर बढेकोले ।
उक्त संख्या यो भन्दा बढि नै देखिएको छ । यद्यपी सर्वेक्षणअनुसारको तथ्याकंका आधारमा देखिएका घरधुरीमध्ये अझै २१ हजार बढी घरधुरी नक्शापास बिहीन अवस्थामा छन् ।
उपमहानगरपालिकाको नक्शा शाखाका अनुसार २१ हजार घरधुरीमा निजीदेखि सरकारी र गैरसरकारी संस्थाका भौतिक संरचना समेत रहेका छन् ।
भूकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि प्रोत्साहन गर्दै नेपालगन्ज उप–महानगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र संरचना निर्माण गर्दा अनिवार्य नक्शापास गर्नुपर्ने प्रावधान कडाईका साथ लागू गर्ने तयारी गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल बताउँछन् ।
पुरानो शहरको रुपमा परिचित नेपालगन्ज अव्यवस्थित र असुरक्षित बन्दै गएको छ । भवन संहिता अनुसार भूकम्प प्रतिरोधात्मक सुरक्षा सहितको भवन निर्माण गरी सुरक्षित शहर निर्माण गर्नको लागि अनिवार्य नक्शापास गर्नुपर्ने प्रावधान कडाईका साथ लागू गर्ने तयारी भएको उनी बताउँछन् ।
उपमहानगरले भवन संहिता निर्माण गरी कार्यान्वयनको पाटोमा दृढ भएको नक्शा शाखा प्रमुख ईञ्जिनियर सुरज शर्मा बताउँछन् । तर, नेपालगन्जमा भवन निर्माण आचारसंहिता पालना भएको देखिदैन् ।
उनले नक्शा पासको लागि निर्माण संहिताको कन्सलटेन्ट, ईञ्जिनियर तथा अन्य सेवाग्राहीलाई जानकारी दिनुको साथै नक्शा पास गर्दा र नगर्दाका फाईदा बेफाईदाको बारेमा जानकारी गराउने गरिएको बताए ।
गत पुस मसान्तसम्म नेपालगन्ज उपमहानगरपालिकामा नक्शा पासको लागि ५ सय ३६ दरखास्त आएको शाखाको रेकर्डले देखाउँछ । तर, नेपालगन्जमा मासिक पाँच सयको हाराहारीमा नयाँ भौतिक संरचना निर्माण भइरहेका छन् । दरखास्त पर्न आएका मध्ये १ सय ३१ स्वीकृत भएको, १ सय ७४ सुपर स्टक्चर निर्माण गरिएको र ४ सय १६ ले निर्माण सम्पन्न गरेको शाखाको रेकर्डमा उल्लेख छ ।