नेपालगन्जमा आंशिक प्रभाव
नेपालगन्ज : थारुहट/थारुवान राष्ट्रिय मोर्चाले सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाले एक विज्ञप्ति जारी गर्दै आज र भोली आर्थत फागुन २० र २१ गते आम हड्तालको घोषणा गरेको हो ।
मंगलबार र बुधबार कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय, शिक्षण संस्था लगायत सवारी तथा ढुवानीका सबै यातायात ठप्प बनाउँने मोर्चाको घोषणा छ ।
यसका लागि सम्बन्धित क्षेत्रलाई पत्र नै पठाएको मोर्चाले बताएको छ । उक्त दिन बन्द गरिदिन मोर्चाले आग्रह गरिसकेको छ । यो आम हड्ताललाई शसक्तबनाउने मोर्चाले अपील समेत गरेको छ ।
उनीहरुले आदीबासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरुको संशोधन, बजेट थारुमैत्री हुनुपर्ने, सरकारसँग परिणामुखी बार्ता गरेर आफूहरुको माग पुरा गराउने, संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित ११८ जनामाथि लगाईएको मुद्दा निसर्त खारेज गर्नु पर्ने लगायतका माग राख्दै आएका छन् ।
कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने उनीहरुको मुख्य माग छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहितका व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।
थारुले उक्त घटनाको छानविनका लागि गठित समितिको र आयोगको प्रतिवेदनसहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्नसमेत माग गरे । घटनाका दोषीलाई तत्काल कारवाही गर्नुपर्ने उनले बताए ।
उनले मोर्चाले १४ बुँदे माग सरकारलाई बुझाएको र त्यो माघ मसान्तभित्रमा पनि पूरा नहुँदा फागुन २० र २१ गतेदेखि आन्दोलन सुरु गरेको उनले बताए ।
संविधान जनजाति आदीवासी र थारुका लागि जस्ताको तस्तै स्वीकार्य नभएको भन्दै केही मुद्दा संशोधन र खारेजीको आवश्यकता रहेको उनी बताउँछन् ।
यसैबीच, थरुहटको नेपाल बन्दको प्रभाव नेपालगन्जमा आंशिकरुपा परेकोछ । दुईदिने नेपाल बन्द आह्वान गरेको मोर्चाको बन्दको प्रभाव नेपालगन्जमा आंशिकरुपमा परेको हो ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेकाछैनन् । बन्दको नेपालगन्ज भन्दा कोहलपुरमा अलि बढि प्रभाव देखिएकोछ ।
मुख्यसडकमा फाट्टफुट्ट सवारी साधन चलेका भएपनि नेपालगन्ज उपमहानगरपालिकाका भित्री सडकहरुमा सवारीसाधन र सर्वसाधरणको बाक्लो उपस्थितीछ । बजार पूर्णरुपले बन्द छैन ।
नेपालगन्ज उपमहानगरपालिका अधिकांश शैक्षिक संस्था बन्द भएपनि उपमहानगरपालिका भित्री तथा गाँउपालिकामा रहेका विद्यालय खुल्ला रहेको पाइएकोछ ।