मेला, महोत्सव, प्रर्दशनी, भेला गर्न नपाइने: प्रजिअ खड्का
क्यान इन्फोटेक उद्घाटन गर्दै प्रस्तावित लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्ती । प्रदेश सरकारले मेला, महोत्सव, प्रदर्शनी, भेला नगर्न सोमबारमात्र निर्णय गरेकोछ । तस्विरः विजय मल्ल/ सेतोखरी
नेपालगन्ज:प्रस्तावित लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा मेला, महोत्सव, भेला लगायतका गतिविधि नगर्न भनेको छ । संघीय सरकारले नेपाल भ्रमण वर्ष र लगानी सम्मेलन समेत स्थगन गरेको छ ।
संघीयदेखि प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार तमाम गतिविधिमा रोक लगाएको अवस्था छ । तर, बाँकेको नेपालगन्जमा मेला, महोत्सव तथा प्रदर्शनीहरू भइरहेका छन् । सरकारको निर्णय यहाँ कार्यान्वयनमा आएको देखिदैन् । प्रदेश सरकार सभामुख पुर्णबहादुर घर्तीले सरकारकै निर्णय विपरित बाँकेको नेपालगन्जमा मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेकको औपचारिक उद्घाटन गरेकाछन् । यसले पनि सरकारकै निर्णय विरुद्ध सरकारकै सभामुख उभिएको प्रष्ट भएकोछ ।
सरकारको निर्णयलाई शतप्रतिशत कार्यान्वयन गर्ने र गराउने निकायको रुपमा रहेको बाँके जिल्ला प्रशासनको पनि उक्त ईन्फोटेकमा सहभागिता देखिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का समेत प्रदेश सरकारको निर्णय विपरित उक्त ईन्फोटेकमा सभामुख घर्तीसगैं सहभागि भएका छन् । तथापी बाँके प्रशासन पनि सरकारको निर्णय कार्यान्वयन गराउँने बिषयमा उदासिन छ ।
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सक्रमण विश्वव्यापी बनेसँगै नेपालको संघीय तथा प्रदेश पाँच लगायतका सरकारले यस्तो निर्णय गरी यसको कार्यान्वयनका लागि सम्बन्धीत प्रस्तावित लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मार्फत सार्वजनिक भइसकेपछि सम्बन्धित निकायले उक्त निर्णय अक्षरस पालना गर्नुपर्ने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बुटवलका सूचना अधिकारी यमकान्त पाण्डेले सेतोखरीसंग बताए ।
उनले भने– मन्त्री परिषद्को निर्णयपछि प्रवक्तामार्फत सार्वजनिक गरिएको सूचनालाई आधिकारिक हुने भएकाले यसको पालना र कार्यान्वयनमा १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सक्रिय हुनुपर्छ ।’
अहिले हामीले प्रवक्तामार्फत सूचना सार्वजनिक गरेका छौं, उनले भने–‘मन्त्रीपरिषद्को निर्णय प्रमाणित भएलगत्तै मंगलबार साँझ वा बुधबार विहानसम्म सवै जिल्ला प्रशासनमा परिपत्रसमेत गरिदैछ ।’ यद्यपी प्रवक्ताले सार्वजनिक गरेको सूचनाकै आधारमा प्रमुख जिल्ला अधिकारीहरु मेला, महोत्सव लगायतका गतिविधि पूर्णरुपमा स्थगन गराउनुपर्ने उनको भनाईछ ।
कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदान जस्तो काम समेत सरकारले स्थगन गरेको छ । अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्था छ ।
सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ । दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए । तर, बाँकेमा मंगलबारदेखि क्यान इन्फोटेक सुरु भएको छ भने बुधबारदेखि दोस्रो नेपालगन्ज महोत्सव हुदैंछ ।
मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी पाण्डेका अनुसार सरकारले गरिसकेको निर्णय विपरित सभामुखले उद्घाटन गर्न नमिल्ने संकेत गर्दै यसविषयमा आफू केही नबोल्ने बताए ।
प्रदेश सरकारले कोरोना भाइरसको जोखिम देखिएपछि प्रदेशका सवै जिल्लामा मेला महोत्सव नगर्न निर्णय गरेपनि मंगलबार बेलुकासम्म परिपत्र आईनसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का बताउँछन् ।
उनका अनुसार यस विषयमा चौतर्फी दवाव आएको र सरकारको निर्णय पनि भएकाले बाँकेमा बुधबारदेखि कुनैपनिखालका मेला महोत्सव, प्रदर्शनी, भेला गर्न दिइने छैन ।
अहिले चलिरहेका मेला, महोत्सव, प्रदर्शनी लगायतका कायक्रम पनि बुधबारदेखि स्थगन गरिदिन प्रजिअ खड्काले आग्रह गरेका छन् । यसअघि नेपालगन्जमा गर्न लागिएको स्ट्र्टि फुड फेस्टिबल समेत कोरोना भाइरसका कारण स्थगन गर्नुपरेको होटल व्यवसायी संघ बाँकेले जनाएकोछ ।