नेपालगन्ज: रेडियो सद्भावले सञ्चालन गरेको १० दिने पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएकोछ । मंगलबार एक कार्यक्रमको आयोजना गरि तालिमको समापन गरिएको हो ।
तालिममा विभिन्न क्षेत्रका पत्रकारिता तथा उद्घोषण क्षेत्रमा ईच्छुक १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै रेडियो सद्भावका स्टेशन प्रमुख नविन गिरीले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई रेडियोमै रोजगारी दिने गरी तालिम आयोजना गरिएको बताए ।
तालिममा कार्यक्रम उत्पादन, कार्यक्रम सञ्चालन, समाचार लेखन, वाचन तथा अन्तर्वार्तामूलक कार्यक्रम सञ्चालन गर्ने तरिका, विधि तथा पालना गर्नुपर्ने आधारभूत कुराहरु सिकाइएको तालिम संयोजक समीरमान श्रेष्ठले जानकारी दिए ।
तालिममा १५ वर्षदेखि ५० वर्षसम्मका विद्यार्थी, गृहिणी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । तालिममा स्टेशन प्रमुख गिरी, स्टेशन संयोजक श्रेष्ठ र बरिष्ठ कार्यक्रम उत्पादक खगेन्द्र दाहालले प्रशिक्षण दिएका थिए ।