मेला महोत्सव बन्द गर्न प्रशासनको निर्देशन

प्रदेश सरकारको निर्णय विरुद्ध बाँकेमा मेला महोत्सव सञ्चालन


मेला महोत्सव बन्द गर्न प्रशासनको निर्देशन

नेपालगन्ज: बाँके प्रशासनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मेला महोत्सव, भेला, प्रर्दशनी र भीडभाड नगर्न निर्देशन दिएकोछ ।
संघीय तथा प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले सोमबार प्रस्तावित लुम्बिनी प्रदेशका जिल्लामा यस्ता गतिविधिमा रोक लगाउने निर्णय गरेसगैं उक्त निर्णय कार्यन्वयन गर्दै बाँके प्रशासनले बुधबार यस्तो निर्देशन दिएको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले समोबार निर्णय गरेपनि बुधबार मात्रै प्रदेशका १२ वटै जिल्लामा परिपत्र गरेपछि यहाँको प्रशासनले यस्तो निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकरी कुमारबहादुर खड्काले बताए ।

उनका अनुसार बिहीबारदेखि बाँकेमा कुनैपनि मेला, महोत्सव, प्रदर्शनी भेला गर्न पाइने छैन । बुधबारसम्म चलिरहेका यस्ता गतिविधि पनि बिहीबारदेखि पूर्णरुपमा बन्द गर्नुपर्नेछ । बाँकेको नेपालगन्जमा क्यान इन्फोटेक प्रर्दशनी तथा नेपालगन्ज महोत्सव सञ्चालन गरिएकोछ । तर, कोरोना भाइरसकै कारण नेपालगन्जको सडकमा गरिने भनिएको सडक खाना महोत्सव भने स्थगित गरिएकोछ ।

प्रशासनको निर्देशन कार्यान्वयन नगरे कानून बमोजिम सम्बन्धित पक्षलाई कानूनी दायरमा ल्याउने प्रजिअ खड्का बताउँछन् । उलने भने बुधबारसम्म प्रदेशबाट पत्र आएको थिएन । यद्यपी बुधबार साँझ मात्रै निर्देशन सहितको पत्र प्राप्त गरेपछि बाँके प्रशासनले कोरोना भाइरसको जोखिम बढ्न सक्ने कुरालाई ध्यानमा राख्दै यस्ता गतिविधिमा रोक लगाएको हो ।

संघीयदेखि प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार तमाम गतिविधिमा रोक लगाएको अवस्था छ । तर, बाँकेको नेपालगन्जमा मेला, महोत्सव तथा प्रदर्शनीहरू निर्वाधरुपमा भइरहेका छन् ।

सरकारको निर्णय यहाँ कार्यान्वयनमा आएको देखिदैन् । प्रदेश सरकार सभामुख पुर्णबहादुर घर्तीले सरकारकै निर्णय विपरित बाँकेको नेपालगन्जमा मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेकको औपचारिक उद्घाटन गरे । यसले पनि सरकारकै निर्णय विरुद्ध सरकारकै सभामुख उभिएको प्रष्ट भएकोछ ।

सरकारको निर्णयलाई शतप्रतिशत कार्यान्वयन गर्ने र गराउने निकायको रुपमा रहेको बाँके जिल्ला प्रशासनको पनि उक्त ईन्फोटेकमा सहभागिता देखियो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का समेत प्रदेश सरकारको निर्णय विपरित उक्त ईन्फोटेकमा सभामुख घर्तीसगैं सहभागि भए ।

तथापी बाँके प्रशासन पनि सरकारको निर्णय कार्यान्वयन गराउँने बिषयमा उदासिन छ । बाँकेमा मंगलबारदेखि क्यान इन्फोटेक सुरु भएको छ भने बुधबारदेखि दोस्रो नेपालगन्ज महोत्सव ।

कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय समूदायका साथसाथै राजनीतिक पार्टी र संघसंस्था समेतले धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् ।

प्रदेश ५ सरकारले आगामी बैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन समेत स्थगित गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सूचना अधिकारी यमकान्त पाण्डेले प्रदेश सरकारको निर्णय अनुसार बुधबारनै यस क्षेत्रका १२ वटै जिल्ला प्रशासनमा मेला महोत्सव प्रदर्शनी भेला रोकनका लागि परिपत्र गरिसकेका बताए ।

उनका अनुसार परिपत्र भइसकेकाले सवै प्रशासन कार्यालयहरुले विहीबारदेखि नै उक्त निर्णयको कार्यान्वयन गर्दै यस्ता गतिविधि रोक लगाउनुपर्छ । तर, लाखौं खर्चेर सञ्चालन गरिएका मेला महोत्सव प्रदर्शसनी स्थगन गर्नुपर्दा आयोजकले करोड बढिको घाटा ब्यहोर्नुपर्ने बताएका छन् ।