विमानस्थलमा ‘कोरोना हेल्प डेक्स’


विमानस्थलमा ‘कोरोना हेल्प डेक्स’

नेपालगन्ज: बाँकेको नेपालगन्जस्थित नागरिक उड्डयन कार्यालय परिसरमा बिहीबारदेखि कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष स्थापना गरिएको छ ।

विमानस्थलबाट कर्णाली प्रदेशका विभिन्न जिल्ला, संघीय राजधानी काठमाडौं जाने र काठमाडौंबाट फर्किने हवाई यात्रुलाई लक्षित गरी परीक्षण कक्ष स्थापना गरिएको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

स्वास्थ्य कार्यालयको समन्वयमा स्थापना गरिएको परीक्षण कक्षमा बिहीबारमात्रै पाँचसय बढीको स्वासथ्य जाँच गरिएको हेल्प डेक्समा कार्यरत एचए सुरज बोहोरा बताउँछन् ।

विमानस्थलकै प्रवेशद्वारमा स्थापना गरिएको सो कक्षमा स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्यकर्मीलाई चाहिले आवश्यक स्वास्थ्य सामग्रीसहित ‘थर्मल गन’ पनि दिइएको छ । विमानस्थलमा आगमन तथा प्रस्थानमा आउने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने बताइएको
छ ।

विशेष गरी यस विमानस्थलमा राजधानी काठमाडौका साथै कर्णाली तथा सुदूर प्रदेशका जिल्लाबाट यात्रुहरू आउने गरेका छन् । कोरोना भाइरस भित्रिन सक्ने अवस्थालाई मध्यनजर गरी विमानस्थलमा उच्च सतर्कता अपनाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।

विमानस्थलमा बिहीबारदेखि सञ्चालनमा आएको कोरोना हेल्थ डेस्कमा मन्ध्यान्हसम्म ७ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गरिएका ब्यक्तिहरुमा कुनैपनि लक्षण नदेखिएको हेल्प डेक्समा कार्यरत एचए सुरज बोहोरा बताउँछन् ।

यसैबीच कोरोना भाइरस भित्रिन सक्ने अवस्थालाई मध्यनजर गरी विमानस्थलमा उच्च सतर्कता अपनाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।

विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका सबै निकायलाई ‘हाई अर्लट’ रहन निर्देशन जारी गरेको छ ।

छिमेकी राष्ट्र चीनपछि अहिले भारतमा समेत कोरोना भाइरसका संक्रमित देखा परेपछि प्रशासन कार्यालय बाँकेले जिल्लाका सीमा नाका, विमानस्थल, भीडभाड हुने स्थानलाई लक्षित गर्दै सबै निकायलाई हाई अलर्टमा रहन निर्देशन जारी गरेको हो ।

कोरोना भाइरसबाट जिल्लाबासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सबै सरकारी निकाय, जनस्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई अलर्टमा रहन निर्देशन जारी गरिसकेको प्रमुख जिल्ला अधिकारी खड्का बताउँछन् ।

अहिले कोरोना भाइरसले विश्वलाई आतङ्कित बनाएको छ, प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘बाँकेसीलाई यस भाइरसबाट जोगाउन हामीले जनचेतना मूलक कार्यक्रम सञ्चालन सुरु गरेका छौँ, यसका लागि प्रशासन कार्यालयले एक साताअघि नै सबै सरोकारवाला पक्षसँग यस बारेमा छलफल गरी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरिसकेका छौँ ।’