राप्तीसोनारी गाउँपालिकाको छैठौं गाउँसभा
बाँके(अगैया): राप्तीसोनारी गाउँपालिकाको बिहीबार बसेको छैठौ गाउँ सभा कोरोना भाइरसका विषयमा केन्द्रित भएको छ । गाउँपालिकाले तयार गरेका विभिन्न ३१ वटा कानूनका विषयमा छलफल गरी सभाले पारित गर्ने कार्यसूची रहेपनि विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसको महामारी गाउँपालिका क्षेत्रभित्र उत्पन्न हुन नदिन विशेष सावधानी अपनाउने विषयमा सभा केन्द्रित भएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।
‘सभाबाट पारित गरिनुपर्ने कानून र अन्य निर्णयलाई थाती राखेर विशेषगरी कोरोना भाइरसका बारेमा बढी छलफल केन्द्रित भयो,’ उनले भने ‘कोरोना भाइरस रोकथामका लागि सचेतना मुलक कार्यक्रम गर्ने, प्रचार–प्रसार गर्ने, मास्क खरिद गरी वितरण गर्ने र यसका लागि आवश्यक बजेटको ब्यवस्था मिलाउने विषयमै सभा केन्द्रित रह्यो ।’
सभा यही फागुन ११ गतेबाट सुरु भएको थियो । उक्त दिन सभा सुरु भएपनि फागुन २२ गते पुनः बस्ने गरी टुंगिएको थियो । छैठौ गाउँसभाबाट विभिन्न नियम, कानून पारित गर्नुका साथै बजेट संशोधन, नामाकरण लगायत निर्णय गरिनेछ ।
बिहीबारको सभामा बोल्ने अधिकांस सदस्यले विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसबाट राप्तीसोनारी क्षेत्रका आम नागरिकलाई जोगाउन सचेतना मुलक कार्यक्रमलाई ब्यापकता दिनुपर्नेमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
गाउँपालिकाले कोरोना भाइरस विरुद्ध सचेतना मुलक कार्यक्रम गर्न, प्रचार प्रचार गर्न तथा मास्क खरिदका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएको उनले बताए ।