बाँके प्रहरी–प्रशासन निर्णय कुल्चिदै, म्याद थप्दै

सन्दर्भ: मेला, महोत्सव रोक्ने सरकारी निर्णय


बाँके प्रहरी–प्रशासन निर्णय कुल्चिदै, म्याद थप्दै

नेपालगन्ज: प्रस्तावित लुम्बिनी प्रदेश सरकारले बाँके लगायत प्रदेशका १२ वटै जिल्लामा मेला, महोत्सव, भेला, प्रर्दशनी गर्न रोक लगाउने निर्णय गरेको पाँच दिन बितेकोछ । तर, बाँकेमा निर्वाधरुपमा प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयनमा आउन सकेकोछैन । उल्टै मेला महोत्सव बन्द गर्न प्रहरी प्रशासनले आइतबारसम्मको म्याद थप गरेको छ ।

सरकारको निर्णय अक्षरस कार्यान्वयन गरि यस्ता गतिविधि रोक्नुपर्ने जिम्मेवारी र दायित्व बोकेको बाँके प्रशासन यस विषयमा असफल देखिएकोछ । मेला, महोत्सव, रोक्नुको साटो बाँके स्थित प्रहरी–प्रशासनले यो या त्यो बाहानामा मेला महोत्सवको म्याद थप्ने काम भने निरन्तर गरिरहेकोछ ।

मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको कार्यकक्षमा बसेको जिल्ला स्थित सुरक्षा निकाय र सरोकारवालाको बैठकले विहीबारदेखि यस्ता गतिविधि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । सोही अनुरुप बाँके प्रहरीले बिहीबार मेला, महोत्सवका आयोजकलाई दुई घण्टा, ४ घण्टा, ६ घण्टा भन्दै घण्टै घण्टाको म्याद थप गरेका थिए । उक्त समयमा आयोजकहरुले मेला महोत्सव स्थगित नगरेपछि, बिहीबार यहाँका मेला महोत्सव राम्रै चलेका थिए ।

शुक्रबार पनि मेला, महोत्सव आयोजकहरुले प्रदेश सरकार, बाँके प्रशासन र बाँके प्रहरीको निर्देशन र आग्रहको धज्जी उडाउदै आफ्ना गतिविधि निरन्तर गरिरहेका थिए ।  शुक्रबार दिउँसो परेको पानीका कारण मेलामा दर्शकको सहभागिता कम रहेपनि आन्तरिक कारोबार भने भइनैरहेको मेला स्थल पुगेकी कारकाँदोकी स्मृति डिसी बताउँछिन् । बाँकेमा प्रहरी प्रशासनले आफ्नो जिम्मेवारी बोध गर्न नसकेको प्रष्ट भएकोछ । आयोजकसंग राम्रै मिलोमतो भएको हुनसक्ने आशंका पनि उब्जिएको छ ।

बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले प्रदेश सरकारको निर्णयसगैं यहाँका मेला महोत्सव प्रदर्शनी रोकिनुपर्ने भएपनि शुक्रबारसम्म नरोकिएको बताउँदै चलिरहेका मेला महोत्सव प्रर्दशनी बन्द गर्न आयोजकलाई आईतबारसम्मको अन्तिम म्याद थप गरिएको बताएका छन् ।

प्रदेश सरकार र बाँके स्थित प्रहरी तथा प्रशासनले विज्ञप्ती नै जारी गरि यस्ता गतिविधि रोक्न आग्रह गरिसकेको छ । उनले भने–‘ प्रत्येक ब्यक्तिलाई पत्राचार गर्न सकिदैन, प्रहरी प्रशासनको सूचनालाई आधार मानेर आयोजकले यस्ता गतिविधि रोक्नुपर्ने हो । तर, विविध कारणले प्रशासनको निर्णय आयोजकले अटेर गरिरहेकाछन् ।’

उनका अनुसार शुक्रबार पानी परेका कारण महोत्सवमा खासै गतिविधि हुनसकेका छैनन् । शुक्रबार पानीले डिस्टर्ब ग¥यो, उनले भने–‘दुई दिनभित्र मेला बन्द गर्छौं भनेर आयोजकले समय मागेपछि हामीले आईतबारसम्मका लागि म्याद थप गरेकाछौं ।’

तर, सरकारले नै कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तत्काल मेला महोत्सव बन्द गर्न बाँके स्थित प्रशासन र प्रहरीलाई निर्देशन दिइसक्दा नियम विपरित र सरकारको निर्णय अटेर गर्दै बाँके प्रहरी प्रशासनले यसरी म्याद थप गर्नु नीति सम्बद नभएको प्रदेश सरकारका सूचना अधिकारी यमप्रसाद पाण्डे बताउँछन् ।

बाँके स्थित नेकपाका जिल्ला तहका नेतादेखि प्रदेश सभा सदस्य समेतको कडा दबाव आएसगैं बाँके प्रशासनले उक्त मेला महोत्सव स्थगन गर्न नसकेको खुलेको छ । शुक्रबार दिउँसो पनि सुरक्षा संयन्त्रको यसैबिषयमा अनौपचारिक छलफल भएको तर, महोत्सव शुक्रबार नै बन्द गर्ने बारे केही निष्कर्ष हुन नसकेको बुझिएको छ ।

बाँके प्रहरीले नेपालगन्जमा जारी दोस्रो नेपालगन्ज महोत्सव र मंगलबारदेखि शुरु गरिएको क्यान ईन्फोटेक प्रर्दशनी मेला स्थगन गर्ने तर्फ प्रहरी र बाँके प्रशासन मौन देखिएको छ ।

यसैबिच, नेपालगन्ज उपमहानगरपालिकाले नगरक्षेत्रभित्र मेला, महोत्सव, प्रर्दशन, भेला, भीडभाड जस्ता गतिविधि नर्गन आग्रह गरेकोछ । उपमहानगरपालिकाको पालिका स्तरीय कार्य समितिको शुक्रबार बसेको बैठकले नगर क्षेत्रमा यस्ता गतिविधी नगर्न आग्रह गरेको हो ।