एसईई: लुम्बिनीबाट ८१ हजार परीक्षार्थी


एसईई: लुम्बिनीबाट ८१ हजार परीक्षार्थी

नेपालगन्ज: माध्यमिक शिक्षा परीक्षा तोकिएकै समयमा हुने भएको छ । आगामी चैत ६ गतेबाट शुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्धारित समयमै हुने शिक्षा मन्त्रालयले बताएको छ ।

चीनबाट फैलिएको कोरोना भाईरसबाट जोगिन सजगता अपनाउन भन्दै मन्त्रालयले कक्षा १ देखि ९ सम्मका वार्षीक परीक्षाहरु चैत ५ भित्रै सक्न आब्हान गरेको थियो । यो आब्हान सँगै एसईई परीक्षाका बारेमा के हुने भन्ने अन्यौल भईरहेका बेला मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै परीक्षा तोकिएकै समयमा सञ्चालन हुने प्रष्ट पारेका छन् ।

गलत सूचनाको भ्रममा नपर्न आब्हान गर्दै उक्त विज्ञप्तिमा मन्त्रालयले स्थितिको नियमित समीक्षा र विश्लेषण गरिरहेको उल्लेख छ । यस वर्ष प्रस्तावित लुम्बिनी प्रदेशबाट एसईईमा ८१ हजार चार सय एकजना विद्यार्थी सहभागी हुंदैछन् ।

प्रदेशका १२ जिल्लाबाट साधारणतर्फ ७६ हजार ६ सय १८, प्राविधिकतर्फ दुई हजार एक सय ३१ र ग्रेड वृद्धितर्फ दुई हजार ६ सय ५२ जना विद्यार्थी सहभागी हुने प्रदेशस्थित सामाजिक विकास मन्त्रालय बताउँछ ।

एसईई परीक्षाका लागि प्रदेशका १२ जिल्लामा गरी ३ सय २१ परीक्षा केन्द्र तोकिएका छन् । जसमध्ये सबैभन्दा धेरै रूपन्देहीमा ५६, दाङमा ४५, बाँकेमा ३३, बर्दियामा ३२, कपिलवस्तुमा २९, गुल्मीमा २६, नवलपरासीमा २२, पाल्पामा २०, अर्घाखाँचीमा १७, रोल्पामा १८, प्युठानमा १७ र रुकुम पूर्वमा ६ वटा परीक्षा केन्द्र छन् ।