निरिह सिडिओ: असफल प्रशासन

मेला, महोत्सव चलिरहे, बजारमा कालोबजारी, भीडभाड उस्तै, सेटिङ्ग चुस्त


निरिह सिडिओ: असफल प्रशासन

नेपालगन्जः यतिबेला देशमा कोरोना भाइरसले आमनागरिकलाई त्रसित बनाएको छ । देशका गाउँबस्तीदेखि संसद र सदनमा समेत कोरोनाकै चिन्ता र चर्चा चुलिएको छ । विश्व स्वास्थ्य संगठनले यसको प्रभावबाट नेपालपनि अछुतो नभएको बताईसकेको छ । नेपाल पनि कोरोनाको उच्च जोखिमा देखिएसँगै संघीय तथा प्रदेश सरकारले यसको रोकथामका लागि आमनागरिकलाई सचेत हुन अपिल गरिसेका छन् ।

संघीय सरकारले गएको सोमबार देशभरमा मेला, महोत्सव, प्रर्दशनी, भीड तथा भेला गर्न बन्देज लगाउँने भनि गरेको निर्णयलाई कार्यान्वयन गर्दै प्रस्तावित लुम्बिनी प्रदेशले त्यसैअनुसार प्रदेश मातहतका जिल्लामा उक्त निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको थियो ।

सोमबार नै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले संघीय सरकारको निर्णय पालना गर्दै सबै जिल्ला प्रशासनलाई कार्यान्वयनका लागि परिपत्र गरेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी यमप्रसाद पाण्डेय बताउँछन् । प्रदेशका धेरै जिल्लाले सरकारको निर्णय कार्यान्वयन गरेपनि बाँके र रूपन्देहीमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाटै सरकारी निर्णयको अवज्ञा भएको छ ।

यहाँका सिडिओले सरकारको निर्णयको अवज्ञा गर्दै मेला, महोत्सवको उद्घाटनमा समेत सहभागीता जनाएका थिए । यतिमात्रै होइन बाँकेको नेपालगन्जमा चलेका मेला, महोत्सव रोक्नुको साटो सञ्चालनका लागि म्याद समेत थप्ने काममा सक्रियता देखिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले यहाँस्थित नेकपाका नेताहरूको चरम दबाबमा परेर सरकारी निर्णय कुल्चिदैं महोत्सवको म्याद थप्ने काममा सहमति जनाएका छन् ।

प्रदेश सरकारले कोरोना भाइरसको कारण यहाँका सबै मेला, महोत्सव स्थगन गर्ने भनेको थियो । यसले लगानी सम्मेलनदेखि नेपाल भ्रमण वर्ष समेत स्थगन गरेको छ । तर, बाँकेको नेपालगन्जमा प्रहरी र प्रशासनकै उदासिनता निरिहपनका कारण सरकारी निर्णय र निर्देशन विपरित महोत्सव चलिरहेका छन् ।

यद्यपी मेला, महोत्सवका आयोजकबाट यहाँको प्रशासन र प्रहरीले गतिलै आर्थिक सेटिङ गरेको पनि चर्चा चलेको छ । हुनत् बाँकेका आउने हरेक सिडिओ र एसपी यहाँ सेवाभन्दा पनि कमाउनैका लागि आउने गरेको यसअघिका विभिन्न घटनाक्रमले पनि प्रष्ट पारिसकेको छ ।
बाँके प्रशासन र आयोजकबिच पाँच लाखको सेटिङ्ग मिलेका कारण पनि सरकारको निर्णय कुल्चिदै प्रशासनले महोत्सव रोक्नुको साटो सञ्चालनका लागि म्याद थपिरहेको खुल्न आएको छ ।

बजारमा पाइने मडिकल माक्स होलसेलमा दुई र बजारमा १० रूपैयाँमा यसअघि पाउने गरेको थियो । तर, अहिले यहि माक्स प्रतिओटा २५ देखि दुई सयसम्ममा व्यापारीले बिक्रि गरिरहेका छन् । यसो हुँदासम्म बाँकेका सिडिओ मौन बिसरहेका छन् ।

बाँकेको नेपालगन्जमा केही सातादेखि माक्सको कालोबजारी भइरहेको छ । तर, यसको रोकथामका लागि प्रशासन उदासिन छ । प्रशासनले लामो समयदेखि बजार अनुगमन समेत गर्न सकेको छैन् । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा अनुगनमन समिति गठन छ । त, उक्त समिति कामबिहीन छ ।

बजारमा माक्समै चरम कालोबजारी हुँदासम्म प्रशासनको उदासिनता रहनु र अनुगमनमा चासो नदेखाउँनुले पनि बाँकेका सिडिओ तथा बाँके प्रहरी प्रशासन निरीह बनेको प्रष्ट हुन आउँछ । यस बिषयमा कुरा गर्न खोज्दा शनिबार दिउँसो चार बजेतिर पटक÷पटक गर्दा पनि बाँकेका सिडिओ कुमारबहादुर खड्काको ९८५८०२७७७७ नम्बरको मोबाईल उठेन् ।

यद्यपी बजार अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको मोबाईल ९८५८०७०१८८ मा सम्पर्क गर्दा उक्त नम्बर उठेपछि उनले बजार अनुगमन अहिले गर्न नसकिएको स्वीर्कादै अब तत्कालै अनुगमनलाई प्रभावकारी बनाउँने बताए ।
उनले नेपालगन्जमा चलेका मेला, महोत्सव बन्द गर्न आयोजकलाई निर्देशन दिइसकेको जिकिर गरेका छन् । उनकाअनुसार आयोजकलाई आइतबारसम्म सामान उठाउने समय दिइएको छ । तर, यहाँ सञ्चालन भएको क्यान इन्फोटेक शनिबार समापन हुँदै छ ।

दोस्रो नेपालगन्ज महोत्सव पनि आईतबार नै सकिने आयोजक बताउँछन् । यसले पनि बाँके प्रशासनले सरकारको निर्णय अवज्ञा गर्दै तै चुप मै चुपको अवस्थामा मेला सफल बनाउँन सहयोग गरेको छ । शुक्रबार मात्रै बाँकेका एसपी वीरबहादुर ओलीले घुमाउँरो पारामा महोत्सव बन्द गर्नुको साटो आइतबारसम्म म्याद थपेको बताएका थिए । दलका नेताको दबाबमा सरकारकै निर्णय कार्यान्वयन गर्न नसक्दा बाँकेका सिडिओ र एसपीको कार्यशैली, कार्यकौशलता र जिम्मेवारीबोधमाथि प्रश्न चिन्ह खडा भएको छ । यसले बाँकेका सिडिओ यो वा त्यो निहुँमा निरीह बनेपनि प्रहरी÷प्रशासन असफल सावित भएको छ ।