Photo: Google
नेपालगन्ज :होली पर्वलाई लक्षितगरी बाँके प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले होली विशेष सुरक्षा योजना अन्तर्गत धेरै भीडभाड हुने सम्भावित स्थानमा बाक्लो प्रहरी परिचालन गरिने बताएका छन् ।
उनकाअनुसार होलीमा कुनैपनि खालका आपराधिक गतिविधी हुन नदिनका लागि बाँके जिल्ला भरमा तीन सय प्रही सुरक्षाका लागि खटाइएको छ । आवश्यक परेको अवस्थामा प्रहरी जनशक्ति थप गर्न सकिने ओली बताउँछन् ।
‘विश्वभर कोरोनाको संक्रमण फैलिहेको अवस्थामा नेपालमा यसको संक्रमणलाई रोक्न भीडभाड नगर्न आग्रह गरेका छौ,’ उनले भने, ‘अवज्ञा गर्ने र जवर्जस्ती रङ, पानी हालेमा पक्राउ गरी कानूनी कारबाही अघि बढाउँने छौ ।’
बाँके तराई भएपनि यहाँ पहाडी, हिमाली क्षेत्रका नागरिकको बाक्लो बसोबास भएकोले सोमबार र मंगलबार होली पर्व मनाउँने प्रचलन छ । बाँके प्रशासन र प्रहरी कार्यालयले विश्वभर फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि फैलिनसक्ने सम्भावनालाई ध्यानमा राख्दै होलीमा भीडभाड नगर्न आग्रह गरेको हो ।
गृहमन्त्रालयले पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गदै होलीमा भिडभाड, सांगितिक कार्यकम नगर्न आग्रह गरेको छ । बालबालिकाले घरको छतबाट पानी छ्याप्ने क्रम बढदै गएपछि नियन्त्रणका लागि प्रहरीले अभिभावकलाई सचेत गराएको छ । बालबालिकाले इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिवाभकलाई समेत कारबाही गरिनेछ ।
प्रहरीले जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटना स्थलमा पुग्ने गरी टोली तयार राखेको एसपी ओली बताउँछन् । यसबाहेक सिसीटीभी क्यामराबाट निरन्तर निगरानी गर्ने प्रहरीले जनाएको छ ।
होलीलाई मर्यादित, सुरक्षित र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक पोइन्ट राखेर निगरानी बढाउने भएको छ । चाडवाडमा मादक पदार्थ सेवन र तिव्र गतिमा सवारी कुदाउनेलाई पनि कारबाही गरिने उनले जानकारी दिए ।
प्रदेश सरकारले गएको सोमबार गरेको निर्णय अनुसार हामीले होली नखेल्न र भीडभाड नगर्न अपील गरेका छौं बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने ‘उक्त अपील अटेर गरेको अवस्थामा कानूनी कारबाही अघि बढाउँछौ ।’
प्रहरीले सामान्य सुरक्षा योजना बनाएपछि बाँके प्रशासनका तर्फबाट होली बिशेषकै लागि खासै सुरक्षा योजना निर्माण नभएको सहायक प्रजिअ उपाध्यायले बताए ।