नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशमा कोरोना संक्रमित विरामीको उपचार गर्नका लागि आइसोलेसन बेड तयार पारिएको छ ।
१० वटा अस्पतालमा आइसोलेसन बेड तयार पारिएको प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । ‘हामी तयारी अवस्थामा र सजग छौं, सबैजना त्रासमा होइन सचेत बन्न जरुरी छ’उनले भने ।
मन्त्रालयले १२ वटा जिल्लालार्ई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेसन बेड तयारी अवस्थामा राखेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वट क्याबिन आइसोलेसन बेडका रूपमा छुट्याइएको अस्पतालको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले बताए ।
बिरामीको चाप अनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ । लुम्बिनीमा डाक्टर सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ ।
भेरी अस्पताल नेपालगन्जमा डाक्टर प्रकाश थापा, पृथ्वीचन्द्र अस्पताल परासीमा डाक्टर पवन अग्रहरि, तौलिहवा अस्पतालमा डाक्टर गणेश क्षेत्री, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर सदीक्षा योगी, देवदह मेडिकल कलेजमा डाक्टर सुन्दर पाण्डेलाई फोकल पर्सन तोकिएको छ ।
लुम्बिनी मेडिकल कलेज पाल्पामा डाक्टर दीपक भण्डारी, युसिएमएस भैरहवामा डाक्टरनवीनजंग रायमाझी, नेपालगन्ज मेडिकल कलेजमा डाक्टर सुन्दरजंग शाह र मिसन अस्पताल पाल्पामा डाक्टर गजेन्द्र नेपालीलाई फोकल पर्सन तोकिएको छ ।