नेपालगन्ज: भारतले आगामी अप्रिल १५ तारिख सम्मका लागि सबै देशको भिसा रद्द गरेकोछ । कोरोना भाइरसको संक्रमण रोक्न भारतले बुधबार यस्तो निर्णय गरेको हो ।
भारत विश्वमा दोस्रो बढी जनसंख्या भएको देश हो । भारतमा कोरोना भाइरसको संक्रमण फैलिए अवस्था चिन्ताजनक हुने भन्दै यस्तो निर्णय गरिएको हो ।
बुधबार रातिदेखि लागू गर्ने भनिएको यस नयाँ नीति अन्र्तगत कूटनीतिक, आधिकारिक रोजगार र ‘प्रोजेक्ट भिसा’ लाई भने हालको प्रतिबन्धबाट छुट दिइने बताइएको छ । सो नियम एक महिनापछि पुनः रिभ्यु गरिने पनि बताइएको छ । तर, अहिले भने छुट दिइएकाहरुलाई समेत १४ दिनसम्मको क्वारेन्टाइनमा राख्न सकिने हुँदा सरकारले अति आवश्यक परिस्थिति बाहेक यात्रा नगर्न चेतावनी दिएको हो ।
योसँगै कोरोना भाइरसको संक्रमण लिएर यात्रा प्रतिबन्ध लगाउने देशको सूचीमा भारत पनि परेको छ । भारत सरकारका स्वास्थ्यमन्त्री हर्षबर्धनले कोरोना भाइरसको संक्रमण रोक्नका लागि उपयुक्त विधिको प्रयोग गरिएको बताए । हाल भारतमा ६० जना संक्रमित भेटिएकाछन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न भारतले चालेको कडा कदमले नेपाल र नेपालीलाई कस्तो प्रभाव पर्छ त्यो भने बुझ्न बाँकी नैछ । भारतले नेपाली यात्रुको हकमा कुन–कुन शर्त राखेको छ भन्नेबारे बुझ्न नेपाली पर्यटन व्यवसायीले दूतावासमा छलफलको तयारी गरिरहेका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयको एडभाइजरीमा नेपालको हकमा के हुने भन्ने स्पष्ट छैन । सबै मुलुकको भिसा रद्द भनिएको छ । तर, नेपालीले भारत जाँदा भिसा लगाउनु पर्दैन ।
भारत सरकारले सबै देशका नागरिकलाई भारत यात्रामा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । यसले अब नेपाल र भारतीबीचको हवाई यात्रा समेत प्रभावित हुने भएको छ । यद्यपी आकस्मिक काम परेको अवस्थामा दूतावासमा सम्पर्क गरी यात्रा अनुमति लिन सकिने प्रावधान भारत सरकारले ल्याएको छ ।