सीमा बन्द हल्ला मात्र होः सिडिओ
नेपालगन्ज: विश्वभर फैलिएको कोभिड–१९ ले जनस्वास्थ्य तथा सुरक्षामा निम्त्याएको जटिलतालाई ध्यानमा राख्दै भारतले पर्यटक भिसा निलम्बन गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भन्दै यात्रा प्रतिबन्धको निर्णय गरिएको भारतले बताएको छ । तर, भारतले जारी गरेको यात्रा प्रतिबन्धले नेपाली नागरिकलाई असर नगर्ने भएको छ । काठमाडौंस्थित भारतीय दूताबासले भनेको छ, ‘यसले हवाई तथा स्थल मार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर गर्ने छैन ।’
तर, कोभिड–१९ को लक्षण देखिएमा वा यसको प्रभाव देखिएको ७ मध्ये कुनै देशमा हालै भ्रमण गरेको पाइएमा भने क्वारेन्टाइनमा राखिने उसले प्रष्ट पारेको छ ।
भारतले आगामी अप्रिल १५ तारिख सम्मका लागि सबै देशको भिसा रद्द गरेकोछ । कोरोना भाइरसको संक्रमण रोक्न भारतले बुधबार यस्तो निर्णय गरेको हो । भारतको यो निर्णयसगैं नेपाल–भारत सीमा बन्दको हल्ला फैलिएकोछ ।
कोरोना भाइरसका नेपाल–भारत सीमा एक महिनाका लागि बन्द हुने भन्दै चर्चा चुलिएपछि सर्वसाधरण तनावग्रस्त भएकाछन् । यसैबीच, नेपाल–भारत सीमानाका बन्द नभएको बाँके प्रशासनले स्पष्ट पारेको छ ।
कोरोना भाइरसका कारण भारतले नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला फैलिएपछि बाँके प्रशासनले यस्तो प्रतिक्रिया दिएको हो ।तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको जानकारीमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।
उनका अनुसार नेपालीलाई नभई भारतले तेस्रो मुलुकबाट आउने पर्यटको भिसा रद्द गरेको स्पष्ट पार्दै सीमा नाका बन्द हुने हल्ला मात्र भएको बताए । नेपाल–भारत नाका शील गर्ने भारतको आधिकारिक निर्णय अहिलेसम्म नआएको बताउँदै उनले हल्लाको पछि नलाग्न आग्रह गरे ।
भारतको यस्तो निर्णयले नेपाल–भारत सीमानाका पनि बन्द हुने आशंका गरिएको छ । अहिलेसम्म तेस्रो मुलुकका पर्यटकको भिसा भारतले रद्द गरेको जानकारीमा आएको उनको भनाई छ ।
‘नेपाल–भारतका नागरिकका लागि नभई तेस्रो मुलुकका पर्यटकका लागि भारतले भिसा रद्द गरेको हो,’ प्रजिअ खड्काले भने । भारतले १३ मार्च–१५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गरेको जनाएको छ । यो निर्णयसँगै १५ अप्रिलसम्म तेस्रो मुलुकका कुनै पनि पर्यटक भारत प्रवेश गर्न नपाउने भएका छन् ।
कूटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, जागिरे, प्रोजेक्ट भिसा पाएर भारत आउनेलाई भने रोकतोक नगर्ने भएको छ । उसले गैरआवासीय भारतीय कार्ड भएकालाई निःशूल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । तर, नेपालीलाई भारत जान भिसा लाग्दैन ।
यस्तै नेपाल सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । भारततर्फ आवत–जावतका लागि नाका सिमित गर्ने र चेकजाँच कडा बनाउने निर्णय गरेको छ । यसका लागि गृहका साथै परराष्ट्र मन्त्रालयले भारत सरकारसँग समन्वय गर्नेछ ।
देशमा संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।