राप्तीसोनारीको शिक्षा ऐन पारित


राप्तीसोनारीको शिक्षा ऐन पारित

बाँके(अगैया) : राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँ सभाले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बिहीबार सम्पन्न सभाले आधारभूत तथा माध्यामिक शिक्षा ऐन २०७६ सर्वसम्मत रुपले पारित गरेको छ । सभामा उपस्थित सबै सदस्यले हात उठाएर सर्वसम्मत पारित गरेका हुन् ।

यस्तै सभामा गाउँपालिकाको बजेट संशोधन, आर्थिक वर्ष २०७५/७६ को महालेखा परीक्षण (मलेप) प्रतिवेदन उपर पनि छलफल भएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

‘सभाले आधारभूत तथा माध्यामिक शिक्षा ऐन २०७६ पारित ग¥यो, गाउँपालिकाको बजेट पनि संशोधन गरियो, गत आर्थिक वर्ष २०७५/७६ को मलेप प्रतिबेदन उपर समेत छलफल भयो,’ उनले बताए । सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले राप्ती सोनारी गाउँपालिकाको समग्र विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताए ।

‘तपाई हामी सबै एउटै डुंगामा बसेका छौं, तपाई हामीले ईतिहास रचेका छौं, काम गर्ने क्रममा कमी कमजोरी हुन्छन्, तर, हामीले एक अर्कालाई दोषारोपन गर्नुभन्दा पनि तपाई हामी सबै जिम्मेवार ब्यक्ति हौं,’ उनले भने– ‘हामी जनप्रतिनिधी र कर्मचारी सबैको आफ्नो ठाउँमा जिम्मेवारी छ, चुनावमा प्रतिवद्धता ब्यक्त गरेर आएका ब्यक्ति हौं, आगामी समयमा पनि हामी साच्चिकै एकजुट भएर लाग्यौं भने गाउँपालिकाको विकास गर्न सम्भव छ र यहाँको चोरी, तस्करी अन्त्य गर्न सकिन्छ ।’

यस्तै गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले नदी, खोलामा उत्खनन् ब्यापक रुपले बढेको भन्दै सभाको ध्यानाकर्षण गराइन् । उपाध्यक्ष खत्रीको प्रस्तावमा सभाका सदस्यले समर्थन जनाउँदै नदी, खोला उत्खनन् गर्नमा संलग्न ब्यक्तिलाई कडा कारबाही गर्नुपर्ने माग गरिन् ।

‘राप्ती सोनारी क्षेत्रभित्रका नदी, खोला खुलेआम उत्खनन् भइरहेका छन्, चाहे ठुला होस् या साना होस जसलाई पनि कारबाही गर्नुपर्छ,’ उपाध्यक्ष खत्रीले भनिन् ‘पहुँच र पैैसावालाले खोला सकिसके, निमुखाले काम गर्न पाएका छैनन् ।’ सभामा बोल्ने अधिकांस सदस्यले राप्ती सोनारी गाउँपालिकाको बजेट, योजना, ऐन कानून लगायत विषयमा धारणा राखेका थिए ।