नेपालगन्जः भिजन टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरु लामो समयदेखि ठगिएका छन् । संस्थाद्वारा सञ्चालित टेलिभिजनमा काम गरेका पत्रकारहरुलाई पारिश्रमिक वापतको रकम नदिएर श्रमशोषण गरिएकोछ । पत्रकारले नै पारिश्रमिक नपाएर ठगिएपछि पारीश्रमिक उपलब्ध गराइदिन पीडितपक्षले माग गरेकाछन् ।
भिजन टेलिभिजनमा तत्कालिन समयमा कार्यरत पत्रकार भगतराम थारु, रविन्द्र सिंह ठकुरी लगायतले पारीश्रमिक नपाएको भन्दै पारीश्रमिक उपलब्ध गराइदिन भन्दै उजुरी दिएपछि यस्तो तथ्य बाहिरीएको हो । पीडित पत्रकारले नेपाल पत्रकार महासंघ बाँके, श्रम कार्यालय लगायत विभिन्न संघसंगठनमा उजुरी दिएका हुन् ।
सेतोखरीसंग कुरा गर्दै पीडित रविन्द्र सिंह ठकुरीले भने–‘मैले ४ महिनाको तलब पाएको छैन । पटक–पटक ताकेता गर्दा झुट्टा आश्वासनमात्र पाइयो ।’ उनले अगाडी थपे–‘कुरा चिप्ला गर्ने, आफै– आफै पैसा उठाउदै लिन्छन् । मसंग मेरो सबै हाजिरी रकेर्डछ, काम गराउने पैसान नदिने ।’
यस्तै अर्का पत्रकार भगतराम थरुले १६ महिनाको तलबबापत पारीश्रमिक नपाएको बताएकाछन् । सेतोखरीसंग कुरा गर्दै उनले भने–‘एक/दुई महिनाको मात्र भएपनि छाडिदिन्थे, १६ महिनाको तलब कसरी विर्सिने ।’
उनले भने–‘म प्रेस संगठन, नेपाल प्रेस युनिय, मिडीया नेपाल सम्बद्ध सवै पत्रकारका संगसगठनसंग अपील गर्न चाहान्छु, मैले पाउनुपर्ने पारीश्रमिक उपलब्ध गराउन सहयोग गर्नुहोस् । आफूले पाउनुपर्ने रकम नपाए कानूनी लडाई लडेरै भएपनि तलब लिएर छाड्छु ।’
भिजन टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरुले लामो समयदेखि पारीश्रमिक नपाएपछि नेपाल पत्रकार महासंघ बाँकेले ध्यानाकर्षण पत्र पठाएको छ ।
महासंघ बाँकेको पारिश्रमिक कार्यान्वयन समितिका संयोजक तथा बाँकेका उपाध्यक्ष प्रदीप वाग्लेद्वारा जारी प्रेस नोटमा ‘पीडित पत्रकारहरुले नेपाल पत्रकार महासंघ बाँके शाखामा उजुरी दिएको र सो बिषयमा टेलिभिजनका अध्यक्ष डाक्टर सुरेशकुमार कनोडियालाई महासंघको टोलीले भेटेरै अवगत गराउनुका साथै टेलिभिजनका प्रबन्ध निर्देशक श्रीराम सिग्देलसंग समेत पटक–पटक भेट गरेर तथा टेलिफोनमा जानकारी गराउँदा समेत पीडित सञ्चारकर्मीहरुले पारिश्रमिक उपलब्ध गराउनतर्फ कुनै पहल नगरेको प्रति महांसघ बाँके गम्भीर भएको छ’ प्रेसनोटमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेले टेलिभिजन व्यवस्थापनलाई ७ भित्र पारिश्रमिक उपलब्ध गराउन माग गर्दै महासंघ बाँके शाखा उपाध्यक्ष वाग्लेले श्रमजिवी पत्रकारहरुले श्रम गरेबापतको पारीश्रमिक पाउनुपर्नेमा जोड दिएका छन् ।
उनले पीडित र पीडक दुवै पक्षसंग पत्रकार महासंघले छलफल गर्छ, श्रमजिवि पत्रकारहरुले पारीश्रमिक पायो भने ठिकैछ, नभए उक्त संस्था विरुद्ध आन्दोलन गर्नुको विकल्प छैन । उनले थपे आन्दोलनका लागि महांसघका सदस्यहरु, प्रेस संगठन, प्रेस युनियन, मिडिया नेपाल लगायतका प्रेससंग सम्बन्धित संस्थाहरुलाई सहयोग गर्न आग्रह गरेकाछन् ।
यस्तै टेलिभिजनमा कार्यरत श्रमजीवि पत्रकारहरुले लामो समयदेखि तलब नपाएको घटनाप्रति मिडिया नेपाल बाँके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल पारिश्रमिक नदिए कडा आन्दोलनको चेतावनी दिएको छ ।
श्रमजीवि पत्रकारहरुलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन माग गर्दै मिडिया नेपालका बाँके संयोजक काशीराम शर्माद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘भिजन टेलिभिजनमा कार्यरत पत्रकार भगतराम थारु, रबिन्द्रसिंह ठकुरी लगायतले पाउनुपर्ने पारिश्रमिक सञ्चालक संस्थाले लामो समयदेखि नदिनुले श्रमजीवि पत्रकारहरुप्रति गरिएको निक्रिष्ट, अमानवीय र श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन २०६४) को कार्यान्वयनलाई चुनौति दिएको हाम्रो ठहर छ ।’
‘भिजन टेलिभिजनमा लामो समयसम्म काम गराएर कानूनले तोकेअनुसारको सेवा, सुविधा र शर्तको पालना नगर्नु र कार्यरत पत्रकारहरुले पाउनुपर्ने पारिश्रमिक नदिएर टेलिभिजन बन्द गरेर श्रमजीवी पत्रकार ऐनकै खिल्ली उडाएको छ,’ विज्ञप्तीमा भनिएको छ । मिडिया नेपालले लामो समयदेखि पारिश्रमिक नपाएका पत्रकारहरुको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्दै यसप्रति गम्भीर नभएमासशक्त र कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
यसैबीच भिजन टेलिभिजनका प्रबन्ध निर्देशक श्रीराम सिग्देलसंग पत्रकारले पारीश्रमिक नपाएको विषयमा बुझ्दा उनले आधिकारिक धारणा दिन चाहेनन्, तर, अनौपचारिकरुपमा काम गरेकाको पारीश्रमिक नरोकिएको बताए ।
सिग्देलले भने–‘अहिले उठीरहेको विषयमा हामी प्रष्ट छौं, मिडिया हाउसमा यस्ता खाले समस्या भइरहन्छन्, एकपक्षिय ढंगबाट मात्र कुरा बुझ्दा समस्या आएको हो ।’