नेपालगन्ज:निर्वाचन भएको महिना दिन बितिसक्दा पनि नेपाल प्रेस युनियन बाँके शाखाको पदभार ग्रहण हुन नसकेपछि निर्वाचित नयाँ कार्यसमिति जिम्मेवारीविहीन बनेको छ ।
निर्वाचन सकिएपछि निर्वाचन समितिले पदभार ग्रहणसँगै प्रमाणपत्र र सपथ नगराएपछि कानूनी रुपमा नयाँ कार्यसमिति जिम्मेवारीविहीन बनेको हो ।
नेपाल प्रेस युनियन बाँके शाखाको यही फागुन २ गते सम्पन्न जिल्ला अधिवेशनले तत्कालिन सचिव अर्जुन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । तर, ओली नेतृत्वको नयाँ कार्यसमितिले अहिलेसम्म बैधानिकता पाएको छैन । पूर्वअध्यक्षले पदभार ग्रहण गराउन चासो नदेखाएपछि नयाँ कार्यसमितिले बैधानिकता पाउन नसकेको निर्वाचित अध्यक्ष ओलीले बताए ।
उनका अनुसार निर्वतमान अध्यक्ष जयनारायण शाहको कार्यव्यस्तता र विविध प्राविधिक कारणले महिनादिनभित्र पनि नयाँ कार्यसमितिले जिम्मेवारी पाउन नसकेको हो । उनले भने, ‘पदभार नहुँदा नयाँ कार्यसमितिले गर्नुपर्ने कामहरु गर्न सकिएको छैन । पूर्वअध्यक्षको व्यवस्तता पनि हुनसक्छ । पदभार ग्रहण नहुँदा नयाँ कार्यसमिति अन्योलमा परेको छ ।’
आफूहरुले पदभार समेत नगरेकोले भिजन टेलिभिजनमा देखिएको समस्याका बारे तत्कालै आधिकारीक रुपमा केही बोल्न नमिल्ने नवनिर्वा्चित अध्यक्ष ओलीले बताए । मिडिया हाउसमा कार्यरत पत्रकारले पारिश्रमिक पाउनुपर्ने बताउँदै उनले यसतर्फ युनियन पनि गम्भीर भएको बताए ।
निर्वाचन भएको महिना दिन वितेपनि आफू जिल्ला बाहिर रहेको कारण नयाँ कार्य समितिलाई पदभार हस्तान्तरण गर्न नसकेको प्रेस युनियनका निवर्तमान अध्यक्ष जयनारायण शाहले बताए । उनकाअनुसार नयाँ समितिले कामकाज शुरु गरिसकेको छ । उनले थपे ‘केवल औपचारिकता दिन मात्रै बाँकी हो ।’