डोल्पा : वर्षातसँगै सुरु भएको हिमपातपछि जुफाल विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि शुक्रबार बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
डोल्पाली जनताका लागि यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ । आज दिनभर हिमपात जारी रहे शनिबारसमेत उडान नहुने सम्भावना देखिएको विमानस्थलले जनाएको छ ।
हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर आउने जाने भइरहेका सर्वसाधारणले बताएका छन् । -रासस