नेपालगन्ज: बाँकेको नेपालगन्ज कोरोनाको उच्च जोखिममा देखिएसँगै यहाँको जमुनाह नाकामा सुरक्षा अवस्था कडाई गरिएको छ । तर, भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षणमा एकदमै लापरवाही भइरहेको छ ।
यसले पनि नेपालगन्जमा कोरोना सहजै भित्रिन सक्ने जानकारहरू बताउँछन् । भारतको लखनउ र बहराइच जिल्लामा कोरोनाबाट नागरिक संक्रमित भएको समाचार आइरहँदा छिमेकी जिल्ला बाँकेको जनस्वास्थ्य कार्यालय लगायतका सम्बन्धीत सरकारी निकायमा यसको रोकथामका लागि प्रभावकारी कुनै तयारी देखिएको छैन् ।
कोरोनाको रोकथामका लागि बजार अनुगमन गरेर काम देखाउँने यहाँका केही सरकारी निकाय आमनागरिकमा सचेतना फैलाउँने काममा अहिले पनि उदासिन छन् । नेपालगन्ज उपमहानगरपालिकाले जमुनाह नाकामा हेल्प डेक्स स्थापना गरेको छ । तर, उक्त हेल्प डेक्समा आवश्यकता अनुसारका स्वास्थ्यकर्मी नै छैनन् । एउटा हेल्प डेक्समा तीनजना स्वास्थ्यकर्मी पठाउँने उपमहानगरपालिकाले यसअघि बताएपनि आइतबार उक्त डेक्समा दुई जना स्वास्थ्यकर्मी मात्रै देखिएका थिए ।
शनिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सहितका उच्च अधिकारीले उक्त डेक्स र जमुनाह नाकाको अनुगमन गरेका थिए । अनुगमनका क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जमुनाह नाकामा आइतबार विहानदेखि नै चौबिसै घण्टा एम्बुलेसको व्यवस्था गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएका थिए । तर, आईतबार जमुनाह नाकामा एउटा पनि एम्बुलेन्स देखिएनन् ।
शनिबार सिडिओ सापले नाकामा एम्बुलेन्स स्टेण्टबाई राख्न निर्देशन दिनु भएको हो जमुनाह प्रहरी चौकीका प्रुमख सई माधव रिजालले भने ‘तर, सिडिओकै निर्देशन आइतबार पालना भएको छैन् ।’ उनकाअनुसार आईतबार विहानैदेखि साँझ चार बजेसम्म जमुनाहमा विरामी वा संक्रमित लैजानका लागि एउटा पनि एम्बुलेन्स आएको छैन् ।
हुनत बाँकेमा सरकारी नीति नियम उल्लघंन गर्ने र प्रशासनकै निर्णय अटेरी गर्ने पुरानै प्रावधान हो । यसअघि पनि प्रस्तावित लुम्बिनी प्रदेश सरकारले कोरोनाका कारण कुनैपनि मेला, महोत्सव नगर्ने निर्णय गरेको थियो । तर, त्यतिबेला बाँकेकै प्रजिअ खड्काले सरकारको निर्णयको खिलाप गरेका थिए । त्यसैको परिणाम सिडिओको शनिवारको निर्देशन आइतबार पनि कार्यान्वयन हुन सकेन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले भने आफनो निर्देशन पालना नभएको प्रति आक्रोश व्यक्त गर्दै सेतोखरीसँगको आइतबार दिउँसो दूई बजेको टेलिफोन कुराकानीमा तत्कालै एम्बुलेन्स पठाउँने प्रतिबद्धता गरेपनि आइतबार साँझ साढे चार बजेसम्म जमुनाहमा एम्बुलेन्स देखिएका थिएनन् ।