कोरोना भाइरसः भारत जाने घटेपछि जमुनाह नाका सुनसान


कोरोना भाइरसः भारत जाने घटेपछि जमुनाह नाका सुनसान

नेपालगन्ज: छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि स्वदेश फर्किन थालेका छन् । कामका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेका हुन् ।

पछिल्लो एक हप्तादेखि नेपाल फर्किनेको संख्यामा वृद्धि भएको इलाका प्रहरी कार्यालय, जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजाल बताउँछन् । उनले चैत्र १ गते नै एक सय १९ जना पुरुष र ३६ महिला गरि एक सय ५५ जना स्वदेश फर्किएको बताए । यस्तै चैत्र २ गते आईतबार यो संख्या बढेर तीन सय ४९ पुरुष र एक सय २५ महिला नेपाल फर्किएको उनले बताए ।

यसअघि दैनिक एक सयको हाराहारीमा नेपाल फर्किने गरेको जमुनाह प्रहरीको तथ्यांकमा उल्लेख छ । ‘भारतमा कोरोनाको संक्रमण देखिएपछि सर्ने डरले कामका लागि नेपाल फर्किनेको संख्या बढेको छ,’ उनले भने, –‘यो समय फर्किनेभन्दा कामका लागि भारत जाने समय हो ।’

कामका लागि भारत गएका नेपाली फर्किने क्रम बढे पनि कामका लागि भारत जाने र किनमेलका लागि सीमावर्ती रुपैडिहा जानेको संख्या ह्वात्तै घटेको छ । रिजालका अनुसार, किनमलेका लागि रुपइडिहा जानेको संख्या झण्डै ७० प्रतिशतले घटेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि किनमेलका लागि भारत जानेको संख्यामा समेत कमी आएको प्रहरीले जनाएको छ । किनमेलका लागि भारत जानेको संख्यामा कमी आएपछि जमुनाह नाका सुनसान भएको छ । सधैँ भीडभाड हुने जमुनाहस्थित यात्रु शाखाका कर्मचारी फुर्सदिला भएको प्रहरी नायव निरीक्षक रिजालले जानकारी दिए । ‘तीन दिनदेखि जमुनाह नाका सुनसान जस्तै छ, अति आवश्यक काम बाहेक अन्य कामका लागि सर्वसाधारण भारत गएको देखिदैन,’ उनले भने ।