नेपालगन्ज: कोरोना भाइरसका कारण माक्स र स्यानीटाइजरको कृत्रिम अभाव सिर्जना गरिएकोछ । बाँकेको नेपालगन्जमा पनि माक्स र स्यानीटाईजरको अभाव देखिएकोछ ।
नेपालगन्जका ब्यापारीहरुले उक्त माक्स र स्यानीटाईजर लुकाएर कृत्रिम अभाव सिजना गरेका हुन् । २ र १० रुपैयाँमा पाइने माक्सलाई नेपालगन्जका ब्यवसायीले ५० देखि एक सयसम्ममा विक्रि गर्नेगरेकाछन् । संघीय राजधानी काठमाण्डौंमा माक्स र स्यानीटाइजरको अत्याधिक माग बढेका कारण नेपालगन्जका ब्यवसायीले त्यसतर्फ दैनिक ढुवानी गर्दै आएकाछन् ।
अहिलेको नेपालगन्जको बजार तुलनामा काठमाण्डौंमा अझै महंगोमा बेच्न सकिने भएका कारण यहाँका ब्यवसायीले माक्स र स्यानीटाईजरको अभाव देखाएर रातारात काठमाण्डौं पठाउने गरेको नेपालगन्जका ब्यवसायी सरिफ कुमार श्रेष्ठ बताँउछन् ।
उनका अनुसार नेपालगन्जका शतप्रतिशत ब्यवसायीले माक्स र स्यानीटाईजरमा कालोबजारी गरिरहँदा पनि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का उदासिन छन् ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा अनुगमन समिति गठन गरिएको छ । तर, उक्त समिति निस्कृय बनेपछि विगत लामो समयदेखि नेपालगन्जको बजार प्रभावकारी रुपमा अनुगमन हुन सकेकोछैन । यसैले पनि यहाँका ब्यवसायीले माक्स र स्यानीटाइजरमा कालोबजारी गर्दै आएको स्थानीय ब्यवसायी राजीवकिशोर अग्रवाल बताँउछन् ।
यसैबीच, काठमाडौंको सतुंगलबाट ६ लाख बढी थान मास्क प्रहरीले बरामद गरेको छ । यसअघि कपनमा समातेको १ लाख ६८ हजार थान मास्कसहित पक्राउ परेकाको बयानका आधारमा सतुंगलमा लुकाएर राखिएको ६ लाखभन्दा बढी थान मास्क बरामद गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । अहिले काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीसहितले अनुसन्धान अघि बढाएको छ ।