प्रशासनले नाका बन्द गर्न सक्दैन: प्रजिअ खड्का
नेपालगन्ज: कोरोना भाइरसले छिमेकी देश भारत र चीनमा सन्त्रास फैलाएको छ । नेपाली सीमा क्षेत्र खुल्ला छन् । यी सीमा क्षेत्रबाट दैनिक हजारौं मानिसको आवतजावत हुने गरेको छ ।
यसले पनि बाँके लगायतका धेरै जिल्ला कोरोनाको उच्च जोखिममा देखिएका छन् । तर, कोरोनाको रोकथाम तथा यसबाट बच्नका लागि बाँकेस्थित स्वास्थ्यका निकाय र बाँके प्रशासनले अहिलेसम्म कुनै गतिलो तयारी गरेको देखिदैन् ।
संघीय तथा प्रस्तावित लुम्बिनी प्रदेश सरकारले बाँकेमा भेला र भीडभाड नगर्न निर्देशन जारी गरेको छ । तर, यहाँ उक्त निर्देशनको पालना हुन सकेको छैन् । सरकारी निर्णयको कार्यान्वयन गर्ने निकाय जिल्ला प्रशासन समेत यस बिषयमा उदासिन बनिरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको फितलो प्रशासनका कारण सरकारकै निर्णय बाँकेमा कार्यान्वयन हुन नसकेको यथार्थ हो । सरकारले गरेको निर्णय त परै जाओस् उनले औपचारिक कार्यक्रममै गरेको प्रतिबद्धता समेत कार्यान्वयनमा ल्याउन सकेका छैनन् । उनले शनिबार मात्रै जमुनाह नाकामा स्टेण्ड बाई एम्बुलेन्स राख्न निर्देशन दिएका थिए । तर, उनको यो निर्देशन एम्बुलेन्स चालकले समेत टेरेनन् । यसले पनि बाँकेका प्रजिअको प्रशासकीय भूमिका फितलो भएको प्रष्ट पारेको छ ।
कोरोना भारइरकै कारण भारतले स्थलमार्गका चार बाहेक सबे नाका बन्द गर्ने निर्णय गरेको छ । जसमा नेपालगन्जको जमुनाह नाका पनि आइतबारदेखि बन्द हुनुपर्ने हो । तर, बाँकेका प्रशासकको लापरबाही र निर्णय कार्यान्वयन गर्ने क्षमताको अभावमा सोमबारपनि उक्त नाका खुल्लै देखिएको छ ।
नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको बनबासा÷भिमदत्त महेन्द्रनगर, उत्तर प्रदेशसँग सीमा जोडिएको सुनौली/बेलहिया, विहार राज्यको रक्सौल/वीरगंज र पश्चिम बंगालको रानीगञ्ज÷काकरभिट्टा नाकाबाट मात्र नेपाली भारत प्रवेश गर्न पाउने छन् ।
भारतीय गृह मन्त्रालयको निर्णण अनुसार बाँकेको जमुनाह नाका बन्द गरिनुुपर्ने उल्लेख छ । तर, बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का, प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीलगायतका जिल्लास्थित उच्च अधिकारीको कमजोर प्रशासकीय क्षमताले उक्त नाका खुल्ला छ । यसले पनि बाँकेको नेपालगन्ज कोरोनाको उच्च जोखिमा रहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले नेपालगन्जको जमुनाह नाका तत्कालै स्थानीय तहबाट बन्द गर्न नसक्ने बताएका छन् । हामीले जिल्ला तहबाट उक्त नाका तत्कालै बन्द गर्न सक्ने अवस्था छैन् प्रजिअ खड्काले भने ‘यसका लागि प्रदेश तथा संघीय तहबाट नै नाका बन्दका लागि पहल गरिनुपर्छ ।’
भारतमा कोरानोको जोखिम बढेपनि रोजगारीका लागि गएका आम नेपाली घर फर्कदैछन् । उनीहरूको स्वासथ्य परिक्षणका लागि जमुनाह नाकामा हेल्प डेक्स राखिएको छ उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले भने ‘घर फर्कनेलाई नआउन भन्न मिलेन कसरी नाका बन्द गर्नु एकदमै समस्या भइरहेको छ ।’ उनले थपे ‘यस बिषयमा बाँके प्रशासनले गम्भीरताका साथ सोचेर निर्णय गर्न आबश्यक छ ।’
नेपालगन्ज कोरोनाको उच्च जोखिममा देखिएको र यहाँको भेरी अस्पतालमा संक्रमति राख्नसक्ने कुनै पनि वातावरण तथा सुविधा नभएको कारण यसको रोकथामका लागि तत्काल नाका बन्द गर्नुको विकल्प नभएको भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाशबहादुर थापा बताउँछन् । उनकाअनुसार अस्पतालले आइसोलेसन बनाएपनि ती आइसोलेसन संक्रमतिको उपचारका लागि पूर्ण मापदण्डका छैनन् ।
बाँकेको नेपालगन्ज र आसपासमा कोरोनाको जोखिम कम गर्नका लागि बाँके प्रशासनले जमुनाह नाका बन्द गर्नुका साथै यहाँका फिल्म हल, विद्यालय, धेरै नागरिक भीडभाड हुने सरकारी कार्यालय लगायतका स्थानहरू केही समयका लागि बन्द गरिनुपर्ने जानकारहरू बताउँछन् ।