बोर्डर बन्द गरौं !


बोर्डर बन्द गरौं !

नेपालगन्ज: बोर्डर बन्द गरिनुपर्छ । नागरिकको आवागमनमा निगरानी हुनुपर्छ । बोर्डर वा जमुनाह नाकामा रहेको हेल्प डेक्सलाई जनशक्ति र स्रोत साधनले भरीपुर्ण बनाउनुपर्छ । कोरोना भाइरस (कोभिड–१९) बाट बचाउन सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिएको छ । तर, बाँके प्रशासन यस बिषयमा मौन छ ।

कोरोनाको संक्रमण भित्रिने प्रमुख कारण खुला सीमा हो । संक्रमणबाट बच्न सबैभन्दा पहिला सीमा सुरक्षामा ध्यान दिनुपर्छ नेपालगन्ज कारकाँदो निवासी स्मृति डिसीले भनिन्–‘उपसमिति गठन गरेर होहल्ला गरी केही हुनेवाला छैन् ।’ संक्रमणबाट बच्न जमुनाह नाकामा निगरानीका लागि चिकित्सकको टोली खटाएको छ उनले थपन ‘तर, यसलाई अझै चलायमान बनाउनुपर्छ ।’ विश्व कोरोनाको चपेटामा छ, नेपालमा पनि आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर देखिँदा अलि अलि पीडा छ । कतै फैलिहाल्ने हो कि भन्ने डर पनि छ । यसको उच्च जोखिममा नेपालगन्ज पनि सूचिकृत छ । नेपालगन्जबासीले कोरोनाको रोकथामका लागि सबै भन्दा पहिला जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठाएका छन् ।

अमेरिका, स्पेनजस्ता देशहरुले संकटकाल घोषणा गरिसकेका छन् । चीनपछि धेरै जनसंख्या भएको भारतका प्रायःजसो राज्यमा कोरोना संक्रमित देखिएका छन् । कतिपय राज्यले स्कुल, सिनेमा हल, नाइट क्लब, खेलकुद, सभा सम्मेलन, जमघट बन्द गरेका छन् ।

नेपालगन्जसँग नजिकै रहेको लखनउ र बहराइचमा समेत आयतबारदेखि हल, स्कुल मन्दिर सबै बन्द गरिएको छ । यस्तो बेलामा समेत नेपालगन्जमा यसको रोकथाम तथा सचेतनाका लागि कुनै तयारी छैन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ भन्सारमा किराना पसल सञ्चालन गरेका सुरज थापा छिमेकी देश भारतको लखनउमै दुई जना भन्दा बढीमा कोरोना संक्रमण भइसकेको अवस्थामा नेपालमा आउँदै भनेर चुप लागेर बस्ने अवस्था नभएको बताउँछन् । उनकाअनुसार सुविधा सम्पन्न राष्ट्रलाई संकटमा पारिरहेको बेला नेपालजस्तो देशमा देखिए सबै नष्ट हुने जोखिम बढेकोले नेपाल भारत बोर्डर बन्द गरिनुपर्छ । उनी भन्छन्–‘यसका हेलचक्राई नगरिओ् ।’

खजुराका ऋषि पोखरेलका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बाँके प्रशासनले लापरवाही गरिरहेको छ । उनले भने ‘बाँके प्रशासनको मौनताले बाँकेबासी मात्र नभई सिंगो देश नै संक्रमणको उच्च जोखिममा रहने देखिएको छ ।’

नेपालगन्जका रामचन्द्र श्रेष्ठ संघीय तथा प्रदेश सरकारले र भारत सरकारले समेत नेपालगन्ज नाका बन्द गर्ने भनिरहेको बेला बाँकेका प्रजिअ खड्काको हेलचेक्र्याँईले सोमबारसम्म पनि नाका बन्द हुन नसकेको हुँदा नेपालगन्ज कोरोनाको उच्च जोखिमै रहेको बताए ।

कतिपय देशले आवागमन बन्द गरेका छन् । क्वारेन्टाइनलाई प्रभावकारी बनाउँदै सम्भावित महामारीदेखि बच्न सतर्कता अपनाएका छन् । नेपाल सरकारले पनि पर्यटक भिसा बन्द गर्ने, ठूला सभा समारोह नगर्न आग्रह गर्नेजस्ता सतर्कता अपनाएको छ । तर, यति सतर्कताले पनि नेपालमा कोरोना संक्रमण रोक्न पर्याप्त नहुन सक्छ । यसका लागि प्रत्येक जिल्लामा उच्च सुरक्षा सर्तकता अपानाउन आबश्यक छ ।

प्रस्तावित लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बढी जनघनत्व भएको नेपालगन्ज, बुटवल धनगढीजस्ता शहरमा सिनेमा हल, विद्यालय, ठूला कार्यक्रम केही समयलाई रोक्नुपर्ने नेपालगन्जका विकास थापा बताउँछन् । संक्रमण देखिएपछि मात्र सतर्कता अपनाऔंला भनेर हुन्छ र ? उनले भने –‘नेपालगन्जको हकमा बाँकेका प्रमुख जिल्ला अधिकारीले तत्काल निर्णय लिई उक्त निर्णय कार्यान्वयनमा ल्यान सक्नुपर्छ ।’

कोरोनाबाट बच्न विमानस्थल र जमुनाह नाकाको सुरक्षालाई विशेष निगरानी गरी प्रत्येकको स्वास्थ्य अवस्थाको परीक्षण गर्नुपर्ने अवस्था छ । तर, यी दुवै स्थानमा रहेका हेल्प डेक्समा उचित जनशक्ति र साधन नै छैनन् ।

भारतको लखनउबाट नेपालगन्जमा भान्जिको मगनीका लागि आएका अजय पाठक नेपाल भारत बोर्डर केही समयका लागि बन्द गरिनुपर्ने बताउँछन् । लखनउमै कोरोनाका संक्रमति दिनप्रतिदिन बढिरहेको अवस्थामा नेपाल भारत बोर्डर बन्द गर्नुको विकल्प नभएको उनले बताए । उनले भने–‘लखनउमा सरकारले कोरोनाको संक्रमण फैलिन नदिन चालेको कदका अघि नेपाल भारत बोर्डरमा देखिएको लापरवाही नै प्रमुख जोखिमको कारण हुनेछ ।’

नेपालमा हालसम्म कसैमा पनि कोरोनाको संक्रमण भेटिएको छैन् । तर, विश्वभर कोरोनाको संक्रमण फैलिइरहेका बेला बाँके प्रशासनले पनि केही योजना बनाएर अघि बढ्नुपर्छ । सबेभन्दा पहिला जमुनाह नाका बन्द गर्नुको विकल्प देखिदैन् ।

यसतर्फ बाँकेका प्रजिअ खड्काको ध्यान जान आबश्यक छ । संक्रमित भेटिएको अवस्थामा प्राथमिक उपचारका लागि समेत यहाँका अस्पतालमा कुनै व्यवस्था छैन् । सरकारी तथा निजि अस्पतालहरुलाई पनि पूर्व तयारीमा राखिएको छैन् । कोरोनाको संक्रमणले महामारीको रुप लिए सरकारले देशभर स्वास्थ्य संकटकालको घोषणा गर्ने योजना ल्याउको छ । तर, बाँकेका प्रमुख जिल्ला अधिकारी र स्थानीय तह जमुनाह नाका बन्द गर्ने बिषयमै अल्मलिएका छन् ।

बाँकेमा कोरोना रोकथाम तथा भित्रिन नदिने हो भने सबैभन्दा पहिला खुल्ला रहेको सीमानाका पूर्ण रूपमा बन्द गरिनुपर्छ । यहाँको हेल्प डेक्सलाई सशक्त बनाईनुपर्छ । आमनागरिकलाई सचेतनाका लागि सूचना गरिनुपर्छ । विद्यालय, फिल्महल तथा बढी नागरिकको भीडभाड हुने ठाउँमा बिशेष निगरानी बढाउँनुपर्छ । सरकारी तथा नीजि अस्पतालमा आइसोलेसनको व्यवस्था गरि विरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्न सक्नुपर्छ । जमुनाह नाका तत्काल बन्द गनिुपर्छ ।नाका बन्दबिना नेपालगन्ज कोरोनाको उच्च जोखिम सूचीबाट बाहिरीन सक्दैन् । 

भारतको बाबागन्जबाट ज्याला मजदुरीका लागि नेपालगन्ज आएका रामदीन चमार भगवान भरोसे दिनहुँ नेपाल भारत बोर्डर आवतजावत गरिरहेको बताउँछन् । सामान्य रोक वा स्वास्थ्य जाँच समेत दुवै देशका अधिकारीले गदैनन उनले भने ‘स्वासथ्यमा एकदमै लापरवाही भइरहेको छ ।’

तर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले तत्कालै बोर्डर बन्द गर्न नसकिने बताएका छन् । उनीहरूको यस्तो ढिपीले भारतको बहराइचमा आइसकेको कोरोनाले नेपालगन्जलाई अछुतो राख्ला भन्न सकिदैन् । तसर्थ बोर्डर बन्द गरी कोरोनाको सन्त्रासबाट बाँकेबासीलाई बचाउँन तत्काल बोर्डर बन्द गर्नु प्रशासनको ध्यान जाओस् ।

नेपालगन्जका चिकित्सकले समेत बाँके कोरोनाको जोखिममा रहेकोले सबैभन्दा पहलिा बोर्डर बन्द गर्नुर्ने सुझाव दिएका छन् । यसैले पनि बाँकेमा कोरोना भित्रिन नदिन खुल्ला सीमानाका पूर्ण रूपमा बन्द गरिनुपर्छ ।