नेपालगन्ज: चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म सात हजार १ सय ७१ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म १ लाख ८२ हजार ६ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ७९ हजार ८ सय ८३ जना उपचारपछि फिर्ता भइसकेका छन् ।
अहिलेसम्म सबैभन्दा बढी चीनमा यो भाइरसका कारण ज्यान गुमाएका छन् । चीनमा मात्रै ३ हजार २ सय २६ जनाको मृत्यु भएको छ । त्यसपछि इटलीमा २ हजार १ सय ५८ जनाको ज्यान गएको छ । यस्तै इरानमा ८ सय ५३ जनाले ज्यान गुमाएका छन्, भने स्पेनमा ३ सय ४२ जनाले ज्यान गुमाएका छन् ।
दक्षिण कोरियामा ८१, जर्मनीमा १७, फ्रान्समा १ सय ४८, अमेरिकामा ९१ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन् । छिमेकी देश भारतमा पनि कोरोना भाइरसका कारण हालसम्म २ जनाले ज्यान गुमाइसकेकाछन् । यद्यपी नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएकोछैन । तथापी केही समय अघि एकजनामा कोरोना भाइरसको संक्रमण पाइएको थियो । तर, उनी अहिले पूर्णरुपमा निको अर्थात स्वस्थ भइसकेकाछन् ।
यतिखेर कोरोना भाइरसले विश्वजगतलाई नै आक्रमण गरिरहेको अवस्थामा नेपालमा कोरोना भाइरस छैन भनेर ढुक्क संग बस्नसक्ने अवस्थाछैन ।
हामीभन्दा धेरै गुणा सुविधासम्पन्न, विकसित हरदृष्टिकोणले सक्षम भएका देश कोरोना भाइरसको संक्रमणबाट बच्न सकेको अवस्था छैन । यस्तो अवस्थामा सजगतासगैं पूर्व तयारी भएन भने कोरोनाको प्रभाव नेपालमा भयानक हुनेछ ।
कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालले यसबाट बच्न गरिएको पूर्वतयारी तथा पूर्वधार व्यवस्थापन सन्तोषजन छैन । नेपाल–भारत सीमा पूर्णरुपले बन्द नगरिदाँसम्म यसको जोखिम उच्च रहेकोछ । तर, यसविषयमा नेपाल सरकारले कुनै चासो दिइरहेको छैन । सीमावर्ती जिल्लाका सुरक्षानिकाय तथा प्रशासनले कुनै चासो नदिएको पाइएकोछ । जो नेपाल र नेपालीका लागि घातक भइरहेकोछ ।