परीक्षण खोप लिदैं जेनिफर हलर
नेपालगन्ज: विश्वब्यापी महामारी बनेको कोरोना भाइरस अर्थात (कोभिड–१९) बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएकोछ । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म विश्वभर सात हजार १ सय ७१ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म १ लाख ८२ हजार ६ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ७९ हजार ८ सय ८३ जना उपचारपछि फिर्ता भइसकेका छन् ।
यसैबीच अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेका छन् । अमेरिकाको सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ्य स्वयमसेवीलाई पहिलो भ्याक्सिन लगाइदिदैं यसको परीक्षण सुरू गरेका हुन् । छोटो समयमा बनाइएको खोपले उनीहरूमाथि देखाउने प्रतिक्रियाको अध्ययन गरिनेछ ।
यो परीक्षणलाई प्रत्यक्षरुपमा हेरेको एसोसियट प्रेस(एपी)ले आफ्नो समाचारमा एउटा सानो प्राविधिक कम्पनीमा काम गर्ने अपरेसन म्यानेजरले यसको पहिलो खोप लिएको जनाएको छ ।
खोप लगाएकी जेनिफर हलर नाम गरेकी ४३ वर्षीया ती महिलाले खोप लिनुपूर्व परीक्षणमा सहयोग गर्न पाउनुलाई अभूतपूर्व मौका भएको बताएकी थिइन् ।
‘हामी सबै एकदमै असहाय महशुस गरिरहेका थियौं । यो मेरो लागि केही गर्ने अभूतपूर्व मौका हो’, खोप लगाउनुअघि उनले भनिन् । त्यसपछि अन्य तीन जनालाई यसको खोप लगाइएको थियो ।
वैज्ञानिकहरूले ४५ स्वयंसेवीहरूलाई एकमहिनाको अवधिमा दुई पटक खोप दिनेछन् । अनुसन्धान सफल भएमा आमप्रयोगका लागि यो खोप तयार हुन १२ देखि १८ महिनाको समय लाग्ने युएस नेशनल इन्सिट्यूट्स अफ हेल्थका डाकटर एन्थोनी फिचीले बताएका छन् ।
सोमबारको परीक्षणले मानिसहरूमा ती खोपको प्रयोग सुरक्षित र असरदार रहे–नरहेको अध्ययन गर्ने बाटो खोलिदिएको छ । ‘अब हामी एउटा टिम हौं’, काइजर पर्मानेन्टेकी अध्ययन नेतृत्वकर्ता डाक्टर लिसा ज्याकसनले परीक्षणको पूर्व सन्ध्यामा भनिन्, ‘आपतकालमा जसले जे गर्नसक्ने हो त्यो गर्न चाहिरहेका छन् ।’