नेपालगन्ज: छिमेकी देश भारतको बहराईच जिल्लाका डीएम(सिडिओ) र एसपी एक्कासी नेपालगन्ज आएका छन् । बहराईच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमारसहितको टोली नेपालगन्ज आएका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी र एसपीसँग भेटघाटका लागि उनीहरु नेपालगन्ज आएका बुझिएकोछ । यद्यपी बहराईचका डीएम र एसपी एक्कासी नेपालगन्ज किन आएका हुन् भन्ने खुल्न सकेकोछैन ।
यतिबेला नेपालगन्ज सुर्खेतरोड स्थित होटल सिग्नेट ईन कृष्णामा बाँके प्रमुख जिल्ला अधिकारी तथा बाँके प्रहरी प्रमुखसंग बहराईचका डीएम र एसपीको संयुक्त बैठक चलिरहेकोछ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बहराईचका डीएम नेपालगन्ज आएको कुरा थाहा पाएको तर, विस्तृत कुरा थाहा नभएको सेतोखरीलाई बताए । उनले सेतोखरीसंग कुरा गर्दै भने–‘उहाँहरु आउने कुरा छ के हो कुरा बुझ्दैछु ।’
यता बाँके प्रमुख जिल्ला अधिकारी र बाँके प्रहरी प्रमुखसंग भेटघाटका लागि आएका बहराईचका डीएम र एसपीका विषयमा बुझ्दा बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले उहाँहरुसंगको भेटघाटपछि मात्र थाहा हुने बताए ।
सेतोखरीसंग कुरा गर्दै एसपी ओलीले भने–‘दुवैजना नेपालगन्ज आउने कुरा पूर्व तयारी होइन । बैठकपछि थाहा हुन्छ ।’ यसअघि बहराईचका डीएम शम्भुकुमार र एसपी विपिनकुमार आउने सूचना पाएको बाँके प्रशासनले उनीहरुलाई नेपालगन्जमा भेट्ने की जमुनाह नाकातिर भेट्ने भन्नेमा अन्यौलता छाएको थियो ।
दुईदिन अघि मात्र नेपाल–भारत सुरक्षा अधिकारीहरुको बर्दियाको ठाकुरद्वारामा बैठक बसेको थियो । सो बैठकमा भारतका डीएमहरु आएका थिएनन् । त्यतीबेला नेपालका प्रमुख जिल्ला अधिकारीहरुले प्रश्न उठाएका थिए ।
विश्वब्यापी कोरोना भाइरसले आतंक मच्चाइरहेको अवस्थामा नेपालगन्जमा भारतको बहराईजका डीएम र एसपी एक्कासी नेपालगन्ज आउनुले चौतर्फी कौतुहुल्ता छाएकोछ । कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल–भारत नाका बन्द गरिनुपर्ने माग उठिरहेको अवस्थामा दुईदेशका अधिकारीबीचको यो भेटघाट महत्वपूर्ण मानिएकोछ ।
यसबीच भारत हरियाणा प्रहरीका तीन अधिकारी बर्दीमा नेपाल प्रवेश गरेका छन् । एक जना सहायक निरीक्षक (सई) को नेतृत्वमा हवल्दार र सिपाही गरी ३ जना भारतीय प्रहरी दैलेख सदरमुकाममा पुगेका हुन् ।
भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरुले भारतमा चोरी र घरमा विषादी हालेर खाना खुवाएको अभियोग लागेका व्यक्तिको ठेगाना खोज्दै आफूहरु आएको बयान दिएका छन् ।
यद्यपी यो विषयमा बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले उनीहरु जमुनाह नाकाबाट नेपाल प्रबेश नगरेको बताए ।