कोरोनाको त्रासबीच नगरसभा


कोरोनाको त्रासबीच नगरसभा

नेपालगन्ज: माहामारीकारुपमा फैलिएको कोभिड–१९ बाट बच्न संघीय तथा प्रदेश सरकारले कुनैपनि भेला, मोहोत्सव, प्रर्दशनी नगर्ने निर्देशन दिइसकेकोछ ।

कोभिड–१९ बाट सावधानी अपनाउँदै संघीय तथा प्रदेश सरकारले गरेको निर्णयलाई लत्याउदै नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो छैठौं नगरसभा सम्पन्न गरेकोछ ।

छिमेकी देश भारतमा कोरोना भाइरसका कारण मङ्गलबारसम्म तीन जनाको मृत्यु भएको परिप्रक्ष्यमा नेपाल–भारत सीमानाका जोडिएको नेपालगन्जमा उपमहानगरपालिकाले बेप्रवाह छैंठौं नगरसभा गरेको हो ।

सरकारले दिएको निर्देशनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउने उपमहानगरपालिका स्वयमले सरकारको निर्णयलाई लत्याउदै कोरोना भाइरसको जोखिमकाबीच नगरसभा गरेको छ । नगरसभासगैं यतीबेला उपमहानगरपालिकाको चौतर्फी आलोचना भइरहेकोछ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा मङ्गलबार नेपालगन्ज उपमहानगरपालिकाको छैंठौं नगरसभा सम्पन्न भएको हो । कोरोना भाइरसकाबीच ‘समृद्ध शहर, नगरबासीको रहर’ भन्ने मुल नाराका साथ नगरसभा सम्पन्न भयो ।

नगरसभाले शिक्षा विधेयक–२०७६ लाई स्वीकृत गर्दै सहकारी ऐन, २०७४ को प्रथम संशोधन गरेको छ । नगरसभाले कोभिड–१९बाट बच्न आवश्यक सचेतनामुलक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेता पनि माहामारीका बेला गरिएको नगरसभाको सन्देश सकारात्मक नभएको जानकार बताँउछन् ।

यद्यपी नगरसभाले कोरोना विरुद्ध पुर्व तयारीका लागि आकस्मिक कोषमा रकम विनियोजन गर्ने निर्णय गरेको छ । नगरसभाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रामा क्रिकेट मैदान निर्माणका लागि सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णयका आधारमा प्रस्तुत भएको प्रस्तावलाई अनुमोदन गरेको छ । क्रिकेट मैदानका सन्दर्भमा गठित समितिका संयोजक सुनिलसिंह हमालले नगरसभामा जानकारी गराएका थिए ।

यस्तै नगरसभाले ५ औं नगरसभाबाट स्वीकृत वडा स्तरीय कार्यक्रमको पेश भए बमोजिमको गत आवको बाँकी मौज्जाद समेतको १० करोड १७ लाख २५ हजार ७ सय १ रुपैयाँ र नगर स्तरीय कार्यक्रमको ५० करोड ९० लाख ४० हजार ८ सय ३ रुपैयाँ बजेट तथा रकमान्तरण तथा संशोधन गर्ने निर्णय गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिमका कारण नगरसभामा आवश्यक स्वास्थ्य परीक्षण सहित संक्षिप्त रुपमा सम्पन्न गरिएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।