७ करोड लागतमा बघौडामा गौशाला


७ करोड लागतमा बघौडामा गौशाला

नरैनापुर(बाँके) : बाँकेको कर्णाली क्षेत्रका रुपमा परिचित बघौडा क्षेत्रमा गौशाला निमार्ण गरिन लागेकोछ । नरैनापुर गाँउपालिका वडा नम्बर ५ मोतीपुरमा गौशाला निर्माणका लागि प्रक्रिया सुरु गरिएको हो ।

नरैनापुरको मोतिपुरमा ७ करोडको लागतमा निर्माण गरिने गौशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितको प्रस्तावना जिल्ला समन्वय समिति बाँकेले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव र जिल्ला समन्वय अधिकारी विरेन्द्रदेव भारतीले गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई मंगलबार प्रस्तावना हस्तान्तरण गरेका हुन् ।

योसंगै नरैनापुर गाउँपालिकाले गौशाला निर्माणको काम अब अघि बढाउनेछ । छिट्टै टेण्डर आह्वान गरेर गौशाला निर्माण थालिने गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

२० बिगाहा क्षेत्रफलमा यो गौशाला बनेसंगै जिल्लामा छाडा पशुचौपाया व्यवस्थापन गर्न निकै सहज हुनेछ । जिल्लामा छाडा पशुचौपाया गम्भीर समस्याका रुपमा देखिएपछि जिल्ला समन्वय समितिले गौशाला निर्माणका लागि ७ करोड रुपैयाँ छुट्टाएको जिल्ला समन्वय समिति सदस्य चेत बहादुर घर्तीले बताए ।