File Photo
नेपालगन्जः विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस आर्थत कोभिड –१९ बाट बुधबार अपरान्हसम्म ८ हजार बढीको ज्यान गइसकेकोछ ।
यो अवधिसम्म विश्वभरबाट २ लाखबढी संक्रमित भइसकेका छन् । तर, कोरोना भाइरस (कोभिड १९) लाई लिएर नेपालमा चौतर्फी त्रास फैलिरहेको बेला सरकाले नेपालमा कोभिड–१९ नभएको बताएकोछ ।
देशमा हाल कोभिड–१९ को संक्रमण कसैमा पनि नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुरुमा चीनबाट आएका एक नेपालीमा परीक्षण गर्दा उनीमा कोभिड–१९ को रिपोर्ट पोजेटिभ देखिएपनि हाल उनी निको भइसकेकाछन् । त्यसयता नेपालमा कसैमा पनि कोभिड–१९ भाइरसको संक्रमण नदेखिएको मन्त्रालयको भनाइ छ ।
यतिबेला देशमा मौसम परिवर्तनको समय भएकाले रुघाखोकीको बिरामी बढ्दै जाँदा त्रास देखिएको भएपनि सरकारले पर्याप्त सावधानी अपनाइएको र नागरिक स्वयमलाई पनि सावधानी अपनाउन अपील गरेको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभरबाट संकास्पद ५ सय १२ जनाको स्याम्पल टेस्ट गर्दा ५ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसले गर्दा अहिले कसैमा पनि कोभिड–१९ को संक्रमण नरहेको सरकारले स्पष्ट पारेको हो ।
यसबीच, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिडडुल नगर्न सर्वसाधरणलाई अपील गरेको छ ।