कोरोना प्रभावः दिनहुँ ९० हजारले काठमाण्डौ छाडदै


कोरोना प्रभावः दिनहुँ ९० हजारले काठमाण्डौ छाडदै

File Photo

नेपालगन्ज: यकातिर कोरोनाको जोखिम न्यूनीकरणका लागि सरकारले सार्वजनिक सवारी सरसफाइमा ध्यान दिन निर्देशन दिएपछि ट्राफिक प्रहरी त्यसको कार्यान्वयनमा सक्रिय भएका छन् । भने अर्कोतिर कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै उपत्यकाबाट बाहिरिने यात्रुको संख्या दिनानुदिन बढेर आएकोछ ।

अझ कोरोना भाइरसको संत्रासबीच सरकारले एकमहिने 'सेमी लकडाउन' नै लगाएर सबै शिक्षण संस्था बन्द गर्दै माध्यमिक, उच्चमाध्यमिक लगायतका परीक्षा स्थगित गरेपछि देशको राजधानी काठमाण्डौंबाट बाहिरिने यात्रुको संख्या बढेकोहो ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण अर्थात (कोभिड–१९) को सन्त्रासका कारण काठमाडौं उपत्यकाबाट दिनहुँ ९० हजारको संख्यामा यात्रुहरु बाहिरिने गरेकाछन् ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गर्दै भीडभाडमा जान, मन्दिर, गुम्बा, मस्जिद, चर्च, सिनेमाहल, पार्टी प्यालेस लगायतका स्थानमा नजान कडाई गर्दै २५ जना भन्दा बढिको भीड नगर्न समेत आग्रह गरेपछि काठमाडौंमा रहेका व्यक्ति, विद्यार्थी लगायतहरू धमाधम घर फर्कन थालेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनअघिको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ ।
महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १ सय ८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन् । १८ हजार ४ सय ४१ सवारी साधन बाहिरिएका छन् । अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरेका थिए । पछिल्लो समय दैनिक ९० हजारभन्दा धेरै मानिस बाहिरिएका छन् ।

नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन लगायतका नाका हुँदै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीको चाप पनि बढेको छ । घर जान हिजो र आज बिहानैदेखि काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको घुइँचो लागेको देखिन्थ्यो ।

काठमाण्डौं छाडेर घरफर्केकाहरुमा कोरोनाको संक्रमण भए देशभर संक्रमण फैलनेमा कुनै शंका छैन । यद्यपी हालसम्म नेपालमा एक जनाबाहेक अन्यमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । यस्तो अवस्थामा सावधानी अपनाउदै भीडभाडमा नजानु र लगातार सावुनपानीले हात धुनु, संक्रमण भएको शंका लागि स्वास्थ्य उपचार गर्नुनै सवैका लागि हितकार हुन्छ ।